विश्व समाचार

इरानको एकमात्र नागरिक परमाणु ऊर्जा केन्द्रमा अमेरिकी आक्रमण

इरानको दक्षिणी बुशेहर प्रान्तस्थित देशको एकमात्र नागरिक प्रयोजनको परमाणु ऊर्जा केन्द्र (बुशेहर आणविक विद्युत् केन्द्र) को बाहिरी परिधिलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले बिहीबार हवाई आक्रमण गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त जानकारी बुशेहर प्रान्तका उपगभर्नर एहसान जहानियानलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो। उहाँका अनुसार बुशेहर प्रान्तका विभिन्न स्थानहरूमा आक्रमण भएको छ ।

जसमा परमाणु ऊर्जा केन्द्रको बाहिरी सुरक्षा क्षेत्र, चोग्हादाक सहरस्थित एक सैन्य अड्डा तथा प्रान्तको दक्षिणी भागमा रहेको एक माछा मार्ने बन्दरगाहसमेत परेको छ। हालसम्म कुनै मानवीय क्षति भएको आधिकारिक जानकारी प्राप्त नभएको उहाँले बताउनुभएको छ।

परमाणु केन्द्रबाट करिब २० किलोमिटर टाढा रहेको चोग्हादाक क्षेत्रका स्थानीय बासिन्दाले लगातार धेरै विस्फोटको आवाज सुनेको बताएका छन्। यसअघि पनि इजरायल–इरान तथा अमेरिका–इरान तनावका क्रममा बुशेहर केन्द्र नजिक आक्रमण भएका घटनाहरू सार्वजनिक भइसकेका छन्।

यसैबीच, पछिल्लो अमेरिकी आक्रमणपछि इरान–अमेरिका द्वन्द्व फेरि चर्किएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानका दर्जनौं सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।

इरानले कुवेत, कतार, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य संरचनातर्फ क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको दाबी गरेको छ। यसले हालै भएको युद्धविरामको अवस्था थप संकटमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रुसको सहयोगमा निर्माण गरिएको बुशेहर परमाणु ऊर्जा केन्द्रमा हाल एउटा रिएक्टर सञ्चालनमा रहेको छ भने थप दुई रिएक्टर निर्माणाधीन छन्। युद्ध सुरु भएपछि रुसले त्यहाँ कार्यरत आफ्ना प्राविधिक कर्मचारीलाई फिर्ता बोलाएको थियो।

यसअघि पनि संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बुशेहर केन्द्र नजिक हुने कुनै पनि सैन्य आक्रमणले आणविक सुरक्षामा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिँदै त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.