सरकार बदलियो, ‘असारे विकास’ बदलिएन
यो वर्षको असारे विकास नि सक्कियो । गएको राति १२ बजेबाट भुक्तानी दिने काम बन्द भो भनेर सरकारी निकायबाट सूचनै आइसकेछि यो वर्षको विकासे कामले थकाई मार्यो भन्ने बुझ्नु पर्यो हैन त !
वर्षभरियाँ कर्नाली सरकारले त विकास पनि भतक्कै गरेछ ५५ प्रतिशत अरे। केन्द्रीय सरकारले नि त्यसकै आसपास त गरे होला ?
केई दिन अघि मात्र कता १२/१३ प्रतिशत रकम मात्रै खर्चभाको भन्ने कुरा आइराबेला आज उठेर बिहान फेसबुकाँ सम्चार हेर्दा त कर्नाली प्रदेशाँ ५५ प्रतिशत विकास बजेट खर्च भा को भन्ने सम्चार आएछि खास विकास भन्या त आषाढको बीस पारी र २५ वारी पो हुँदो रैछ भन्ने लायो ।
अनि मंशिरदेखि असारको दोश्रो सातासम्म विकास भएन भनेर रुवावासी गर्ने हामी अनि काँ ट विकास हुँदो के ! सरकार, कर्मचारी, ठेकदार यीनरले विकास गर्ने भनेकै असाराँ रैछ त अनि अघिपछि विकास खोज्ने हामी हुस्सु !!
विकास हेर्न असारसम्म पर्खिन पर्छ भन्ने पनि था नपाका के ! हुन त यो पटकको सरकार त पुराना भष्टाचारी दलको नभाको र नयाँ दलले पुराना दलले भन्दा फरक तरिकाले विकास गर्लान, विकासका नयाँ नयाँ तरिका हुन्छन् होला भन्या त देश बनाउने भनम् कि विकास निर्माण गर्ने त उई पुरानै तरिका पो रैछ त ! मान्छे मात्रै फेरिने विकासे तरिका त उई पो रैछ ।
हैन यो सारा संसारबाटै हाई हाई भा सरकारले नि काम गर्ने मोडेल किन परिवर्तन नगर्या होला ? हुन्त काम गर्ने मान्छ्या चिन्तन उइ भएछि नयाँ तरिकाले ठाउँकाँ पाओस ! हिजोको सरकारले आर्थिक वर्षको जुन मोडेल चलाथ्यो यसले नि त्यै मोडेल चलायो ।
असारे विकासाँ देशको ढुकुटी जति रित्याउने र विकासमा हिजो जति प्रतिशत रकम खर्च हुँदैआथ्यो आज नि त्यत्ति मात्रै खर्च हुने हो भने बालेन सरकार आउनु अनि जेनजीले देशाँ त्यत्रो ध्वंस मच्चाउनुको के उपलब्धि भो त !
अनि दुःख गरेर चुनाव गराउनुको के अर्थ भो त ! के त्यसो भए त यी बालेनका कर्मचारीले नि हिजोका कर्मचारीले झैँ विकास बजेटाँ भष्टाचार गरे त !? हुन त भष्टाचार गर्या नगर्या कुरा अख्तियाराँ मुद्दा पर्या नपर्या कुराले केही समय पछि था भैजाला ।
तर केई छैन हिजोसम्म ठेकेदारको उछितो काढने रास्वपाका नेतारु गोडा दुई दिनदेखि ठेकदारहरुसित वार्ताँ जुट्या छन् । सायद सरकार र ठेकदारहरुबीच सुलह भो र सरकार यिनै ठेक्दारबाट काम लिन तयार भो भने पुराना दलले फुटाको भष्टाचारको मुल बन्द हुन्न । बरु मुलबाट बाहिर निकाल्ने तरिका मात्रै फरक त होला हैन र ?
हुन त जेनजीहरले भन्लान हाम्रो सरकार आको तिनै मैना त भो ! ३ मैनाँ के विकास गर्न सकिन्छ र, विकास विकास भन्दै चिल्लाछन् मान्छे १ तर नेपालको हकाँ टेण्डर भएर सकिने र योजनामा बजेट बाँडिने यीयिनै तीन मैना त हुन विकास गर्न सकिने ! यै अवधियाँ जति विकास गर्न सकियो सकियो अरु मैनाँ गर्न सकिन्न ।
तर, हिजोका दलले जसरि यै पचास पच्पन्न प्रतिशत बजेट जुन खर्च गर्थे ऐलेको बालेन सरकारले नि त्यै ५५ प्रतिशतनै रकम खर्च गर्यो भने पुरानो र नयाँ दलाँ भिन्नता के भो के ?
साँच्चै जनताले दुईतिहाई देकै कुरा र पुराना दललाई यसो र उसो भनेर खिस्सिटिउरी गर्ने आफ्ना कार्यकर्तालाई ढाब मारिरहने हो भने त बालेनले सबसे पहेले आर्थिक वर्ष परिवर्तन गरेर बैशाखबाटै आर्थिक वर्ष लागू गर्नु पर्यो अनि भदौसम्म विकास निर्माणका सम्पूर्ण टेण्डर गरेर सक्नु पर्यो अनि असोज देखि चैत ८ महिनामा विकासका काममा दिलो ज्यान दिएर लाग्नु पर्यो तब बल्ल जनताले चाहे जस्तो विकास हुन्छ ।
विकासे हाकिमले निश्चित समयमा सक्ने भनेर तोकेको काम हाकिम ठेकेदार र फिल्डमा खटेको प्राविधिकले सिध्याउन सकेनन् भने तोकेको काम समय सिमाभित्र नसक्नेलाई के कार्वाही गर्ने हो गर्नु पर्यो, अन्यथा नेपालका ठेकेदार, हाकिम र प्राविधिक मिलेर सरकारलाई सिध्याउने मात्र हैन कि भष्टाचारको अन्त्य हैन कि त्यसको चाङ नै लाग्नेछ ।
त्यसैले यो सरकारलाई ५ वर्षमा देशको कायाँपलट गरेर देखाउने रहर छ भने भोलिका दिनबाटै जुटौँ र पहिले ठेकेदारहरुलाई काम गर्ने विषयमा तयार गरौँ त्यसपछि आफ्ना कर्मचारी बीच बसेर उनीहरुको स्पस्ट मनसाय लिउँ यदि उनिहरु कोहि काम गर्ने पक्षमा छैनन भने उनीहरुलाई बिदा गरौँ ।
त्यसको सट्टा अर्कोलाई काम दिउँ । अन्यथा उहीँ पुरानै संयन्त्र र पुरानै बाटो पछ्याईले न विकास हुन्छ न भष्टाचारको अन्त्य हुन्छ । न नयाँ सरकार माथि जनताको विश्वास रहन्छ ।




प्रतिक्रिया राख्नुहोस्