जन सरोकार

पाँचतले मन्दिरको ३२० वर्षगाँठ मनाइयो

विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध पाँचतले मन्दिरको ३२० वर्षगाँठ मनाइएको छ । आइतबार मन्दिरभित्र परम्पराअनुसार राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीले पूजा गरी मन्दिरको टुप्पोमा सेतो कपडामा रातो चन्द्राकार भएको ठूलो झण्डा फहराउँदै वर्षगाँठ मनाइएको हो ।

मन्दिर स्थापनाको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिन यसरी नै पूजाआजा गरी झन्डा फहराउने प्रचलन रहिआएको छ । आजको दिन पूजामा बोका बली दिने परम्परा रहे पनि कोभिड–१९ का कारण मन्दिरमा सामान्य पूजा गरी झण्डा फहराई मनाइएको तलेजुका मूल नाइके नरेन्द्र जोशीले जानकारी दिनुभयो ।

पूजा सकेपछि भक्तपुर नगरको तुछमला टोलका अवालको टोलीले मन्दिरको टुप्पोमा पुगेर झन्डा फहराएको थियो । मन्दिरमा झण्डा राख्नको लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिरमाथि प्रवेश नदिने परम्परा चलिआएको छ ।

नेपाल सम्वत ८२२ मा तत्कालीन भक्तपुरका राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोत्याहुती होम सु–सम्पन्न गरी श्री सिद्धीलक्ष्मी देवीलाई पाँचतले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहास छ । त्यही बेलादेखि नै प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा झण्डोत्तोलन गर्ने प्रचलन रही आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.