राजनीति

वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनैपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ ।

विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताउनुभयोे ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै हुन् सबै कम्युनिष्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भनेर हिजो निकै ठूलो जोखिम र त्याग गरेर आफूले कम्युनिष्ट एकता गराएकै हो ।

अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ । उहाँले वैज्ञानिक विचार राख्नेहरु एकताका साथ अघि बढेमात्रै विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत सुधार गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।

अध्यक्ष प्रचण्डले विज्ञान र प्रविधिमा आम मानिसको अपरिहार्यता अनुरुप वैज्ञानिक आविष्कार हुँदै आएको छ भन्दै अहिलेको डिजिटलयुगमा मानिसको उत्पादनशक्ति र उत्पादकत्व अभिवृद्धिका लागि विज्ञान र प्रविधिलाई उपयोग गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले वैज्ञानिकरूपमा सामाजिक रुपान्तरण र नयाँ उत्पादन र उत्पादकत्व शक्ति बढाउन विज्ञानलाई सचेतरुपले प्रयोग गरिनुपर्ने धारणा व्यक्त गर्नुभयोे ।

वैज्ञानिक सोचसहितको नयाँ खालको बहस नेपाली समाजलाई आवश्यक परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व र आन्दोलनका लागि पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वैज्ञानिक विचारधारा, विकास र समृद्धिको यात्रामा होमिएका राजनीतिक शक्तिहरूबीच यो छलफललाई अझ व्यवस्थित र योजनाबद्धरुपले अभियानकै रुपमा अघि बढाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.