दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन् : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्र शाहले नगरेको बताउनुभएको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टीको वेबसाइट तथा मोबाइल एपको परिमार्जित संस्करण सार्वजनिक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले दरबार हत्याकाण्डलगत्तै युवराज दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर तयार पारिएको ‘रेडिमेड कथा’ विश्वव्यापी रूपमा फैलाइएको दाबी गर्दै दरबार हत्याकाण्डको वास्तविकता अझै सार्वजनिक नभएको उल्लेख गर्नुभयो ।
उहाँले तत्कालीन घटनाबारे विश्वका प्रमुख सञ्चारमाध्यमहरूले समेत घटनाको स्वतन्त्र अनुसन्धान नगरी एउटै कथालाई आधार बनाएर प्रचार गरेको बताउनुभयो । त्यस्तै अध्यक्ष ओलीले सञ्चारमाध्यमका कार्यालयअगाडि सवारीसाधन पार्किङ्ग गरिएको घटनामा पनि सरकारकै संलग्नता रहेको आरोप लगाउनुभयो । उहाँले सरकारका पछिल्ला गतिविधिले जनताको सहिष्णुता र लोकतान्त्रिक अधिकारमाथि आघात पुगेको दाबी गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी नभएको भन्दै आगामी दिनमा नवीकृत हुँदै अघि बढ्ने स्पष्ट पार्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्