जन सरोकार

यस्ता मामा जसले दुई लाख फिरौती बुझेर आफ्नै भाञ्जाको ज्यान लिए

फिरौती लिएर आफ्नै भाञ्जाको हत्या गर्ने राजेशकुमार गुप्ता

नेपालीमा एउटा मान्यता छ– ‘आमा कि मामा’ अर्थात् आमाको दोस्रो रुप मामा हो र मामाले आमाले जत्तिकै स्याहार सुसार र रक्षा गर्छन् भन्ने मान्यता हो । तर कहिलेकाहीं ‘रक्षक नै भक्षक’ भैदिन्छन् र १३ वर्षअघि रक्षक नै भक्षक भएका एक मामा पक्राउ परेका छन् ।

एउटा घटना १३ वर्षअघि काठमाडौँमा भएको एक हत्याा काण्डमा आफ्नै भाञ्जाको हत्या आरोपित एक भारतीयलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले शनिबार पक्राउ गरेको छ । अभियुक्त भारत बिहार, सीतामढी जिल्ला मुजफ्फरपुर घर भई तत्कालीन काठमाडौँ महानगरपालिका–२२ खिचापोखरी बस्ने ४५ वर्षीय राजेशकुमार गुप्ता हुन् । नेपालीलाई मतियार बनाएर अपरहण गरी उनले आफ्नै भाञ्जाको हत्या गरेको अभियोग लगाइएको छ । फिरौती लिएर पनि उनले भाञ्जालाई सकुशल छाडेनन् । बेलाबेलामा नेपाल आए पनि भारतमा लुक्दै आएका उनलाई तेह्र वर्षपछि प्रहरीले समातेको हो ।

त्यतिखेर ११ वर्षीय रोहित गुप्ता राय स्कूल जोरपाटीमा कक्षा ७ मा अध्ययनरत थिए । सहयोगीको साथ लिएर राजेशले विसं २०६४ असोज २४ गते राति रोहितको अपहरणपछि हत्या गरेको आरोप लगाइएको छ । आफ्नै ज्वाइँलाई झुक्यानमा पारी फिरौती रकम लिएर पनि उनले हत्या गरेको आरोप महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले लगाउनुभयो ।

राजेशले रोहितका बाबु वासुदेवसँग छोरा अपहरणमा परेकाले रु दुई लाख पचास हजार फिरौती मागेका थिए । कुरा गर्दा रु दुई लाख दिने सहमति भयो । उक्त सूचना प्रहरीमा आएपछि खोजतलासका क्रममा असोज २७ गते राति काठमाडौँ महानगरपालिका –३२ कमलादीस्थित गणेश मन्दिर नजीक सडक पेटीमा प्लाष्टिकका बोरामा एउटा पोको फेला पर्यो । पोको खोल्दा भेटिएको शव रोहितको थियो ।

अनुसन्धानको सिलसिलामा ती अपहरणकाकी अरु कोही नभएर आफ्नै मामा राजेशकुमार रहेको खुलेपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो । उनले आफ्ना पुराना सहयोगी (कामदार) धादिङका विष्णु सुनारसमेतको संलग्नतामा जादु सिकाउने बहानामा बालकलाई अपहरण गरेका थिए । बालकको हत्यापछि बोरामा हालेर खुद्रा सामान भएको भनी भरिया प्रयोग गरेर कमलादीमा लगी फ्याँकेको प्रहरीले जनाएको छ ।

योजनामुताविक सुनारले वासुदेवलाई फोन गरेर फिरौती रकम बालकका मामा राजेशलाई पठाउन भने । सोहीअनुसार फिरौती बुझ्न ज्वाइँकहाँ मामा पुगेका थिए । घटनापछि राजेशले फिरौतीबापतको रु दुई लाख बुझे । उनले वासुदेवलाई ट्याक्सीमा आएका अपरिचित व्यक्तिले थानकोटको त्रिभुवन पार्कबाट लुटेको बहाना बुने ।

बालकका बुवा वासुदेवलाई समेत झुक्यानमा पारी राजेशले केही दिन अनुसन्धानमा सहयोग गरे जस्तो पनि गरे । पटकपटक प्रहरी कार्यालयमा पुगेर खोजतलामा सरिक भए । त्यसपछि छठको बहानामा घर जाने भनी उनी फरार भएका थिए ।

घटनामा संलग्न सुनार सोही साल मङ्सिर ८ गते नै पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो । उनकै बयानका आधारमा प्रहरी राजेशसम्म पुगेको थियो । सुनार हाल कारागारमा छन् । फरार हुँदै आएका राजेश भने भारत पुगेको सूचना प्रहरीमा थियो । सुपुर्दगी ऐनअनुसार उनलाई ल्याउने प्रयास सफल हुन सकेन ।

उनी नेपाल आउजाउ गरेको सूचना प्राप्त भएपछि केहीअघि विराटनगरमा पक्राउ गर्न लाग्दा उम्किएका थिए । यसपटक उनी सर्लाहीमा रहेको महानगरीय अपराध महाशाखामा सूचना आयो । तत्कालै टोली पठाएर शनिबार सर्लाहीको मलङ्गवाबाट महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । वासुदेवको काठमाडौँमा कपडाको पसल छ । पहिले राजेश पनि कपडाको थोकव्यापार गर्थे । घाटा लागेपछि पेशा छाडेर धेरै कमाउने लोभमा अपराध कर्म गरेको खुल्न आएका प्रवउ थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.