जन सरोकार

छात्रामाथि दुर्व्यवहारको आरोपमा तीनजना पक्राउ, विद्यालयमा बढ्दो यौन दुर्व्यवहारप्रति चिन्ता

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा शिक्षक तथा कर्मचारीसहित तीनजनालाई सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

समाचारमा समावेश तस्वीर एआई सिर्जित नमूना हो ।

घटनापछि विद्यालयले आरोपित तीनैजनालाई निलम्बन गरेको छ भने सुन्दरहरैँचा नगरपालिकाले निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन्। उनीहरू विद्यालयका शिक्षक तथा कर्मचारी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका गुनासा तथा प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो।

घटनापछि सुन्दरहरैँचा नगरपालिकाले विज्ञप्ति जारी गर्दै विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्वारा जारी विज्ञप्तिमा आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्न विद्यालयलाई निर्देशन दिइएको उल्लेख छ।

नगरपालिकाको निर्देशनपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको संयुक्त बैठकले आरोप लागेका प्रदीप भट्टराई, भीमप्रसाद नेपाल र अबिरल मास्केलाई अनुसन्धान नसकिँदासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको जनाएको छ। नेपाल सङ्गीत प्रशिक्षक, मास्के शिक्षक तथा भट्टराई विद्यालय बसका चालक हुन्।

यसअघि केही छात्राले सामाजिक सञ्जालमार्फत शिक्षक तथा कर्मचारीबाट अनुचित व्यवहार भएको भन्दै आफ्ना अनुभव सार्वजनिक गरेपछि आइतबार घटना बाहिर आएको थियो।

त्यसयता नगर बाल सञ्जाल, कानुन विद्यार्थी समाजलगायत विभिन्न सङ्घसंस्थाले निष्पक्ष छानबिन, पीडितको सुरक्षा र दोषी प्रमाणित भए कडा कानुनी कारबाहीको माग गरेका छन्।

बढ्दो चिन्ताको विषय

पछिल्ला वर्षहरूमा विद्यालय तथा शैक्षिक संस्थामा छात्रामाथि हुने यौनजन्य दुर्व्यवहारका घटनाहरू विभिन्न जिल्लाबाट सार्वजनिक भइरहेका छन्। यस्ता घटनाहरूमध्ये केही सामाजिक सञ्जालमार्फत उजागर भए पनि धेरै घटना भने अझै बाहिर आउन नसकेको सरोकारवालाहरूको भनाइ छ।

विशेषज्ञहरूका अनुसार सामाजिक सञ्जालको व्यापक पहुँचले पीडितलाई आफ्ना अनुभव सार्वजनिक गर्ने माध्यम दिएको छ। यसले पहिले दबिएर रहेका कतिपय घटनाहरू उजागर हुन थालेका छन्।

तर अर्कोतर्फ, सामाजिक प्रतिष्ठा गुम्ने डर, परिवारको बदनामी हुने चिन्ता, पीडितलाई नै दोष दिने सामाजिक प्रवृत्ति तथा मानसिक दबाबका कारण धेरै पीडित र अभिभावक उजुरी गर्न हिच्किचाउने गरेका छन्।

परिणामस्वरूप विद्यालयभित्र हुने यौन दुर्व्यवहारका धेरै घटना गुपचुपमै सीमित रहने र दोषी कानुनी दायरामा आउन नसक्ने अवस्था अझै विद्यमान रहेको अधिकारकर्मीहरूको भनाइ छ।

बालअधिकारकर्मीहरूले विद्यालयलाई बालमैत्री र सुरक्षित सिकाइस्थल बनाउन यौन दुर्व्यवहारविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा लागू गर्न, गोप्य उजुरी प्रणाली विकास गर्न, शिक्षक–कर्मचारीको नियमित आचरण अनुगमन गर्न तथा पीडितलाई सुरक्षित वातावरणमा न्याय दिलाउने संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.