जन सरोकार

मुलुकका ठूला नदीमा पानीको वहाव खतराभन्दा माथि : सुरक्षित रहन आव्हान

नारायणघाटमा रहेको नारायणी नदीको पुलबाट बाढी हेर्दै सर्वसाधारण

दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ । कोशीमा पानीको वहाव बढेपछि सुनसरी र सप्तरीबासीलाई सुरक्षित रहन आव्हान गरिएको छ । यस्तै कोशीको खतरा तह ११ मिटर रहेकामा अहिले नाघेर ११ दशमलव ९७ मिटरमा पुगेको छ ।

बाढी मापन केन्द्र देवघाटका अनुसार नारायणीको खतराको तह आठ मिटरको हो । बिहान ९ बजे नारायणी नदी ९ दशमलव ९ मिटरमा पुगेको छ । नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नं २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ ।

वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार वडाको कोइला, सिसैँ, भगडि भन्ने ठाउँ सबैभन्दा बढी जोखिममा छन् । सो ठाउँका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष खनालले बताउनुभएको छ ।

नारायणीका कारण सुस्तालगायत आसपास तल्लो र नदी तटीय क्षेत्र डुबानको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सुनिल पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै मकवानपुरको मापन केन्द्रअनुसार पूर्वी राप्ती नदीसमेत बढिरहेकाले सतर्कता तह नजिक पुगेको छ । आज उक्त नदी खतरातहसम्म पुग्ने अनुमान गरिएको छ । यसले प्रत्यक्षरूपमा चितवनको सौराहा र आसपास क्षेत्र डुबानमा पार्न सक्ने छ ।

पूर्वी राप्ती ३ दशमलव ३० मिटर सतर्कता तह पार गरी ३ दशमलव ३६ मिटर पुगेको छ । यो नदीको बहाव ३ दशमलव ७० मिटर खतराको तह हो । यस्तै चितवनको माडीस्थित रिऊ नदी पनि बढ्ने क्रममा रहेकाले मंगलबार खतराको आसापास पुग्नसक्ने अनुमान गरिएको छ ।

उपत्यकाबाट वाग्मती र सहायक नदी तटीय क्षेत्रसमेत उच्च जोखिममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका आसपासका सहायक नदीमा बहाव बढ्दो रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । तिनाउ खतराको आसपास पुग्ने, कर्णाली र महाकालीमा समेत बहाव बढ्ने छ ।

बिरिङ, बक्राहा, निन्दा, लोहन्द्रा, चिसाङखोला, त्रियुगा, खाडो, चुरियाखोला, लालबकैया, बाणगङ्गालगायत प्रदेश नं १, २ र ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बग्ने प्राय नदीमा बहाव बढ्ने र सतर्कता तहसम्म पुग्ने तथा केही नदी खतरा तहसम्म पुग्ने जनाइएको छ । प्रदेश नं १ को केही जिल्ला, प्रदेश नं २ का सबै जिल्ला, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको छ ।

साउन ७ गते भने कोशी, नारायणीमा बाढीको बहाव घट्ने र सतर्कता तह आसपास रहने जनाइएको छ तर कमला, वाग्मती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतका नदीमा भने बहाव बढ्ने छ । केहीमा आकस्मिकरूपमा बहाव बढी खतराको तहसम्म पुग्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.