क्रिकेटखेल

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।

आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली पोखरा आउन लागेको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को सहयोग तथा गण्डकी प्रदेश प्रादेशिक सङ्घको आयोजनामा भुटानी टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार आगामी अक्टोबर ३ देखि मलेसियामा सुरु हुने प्रतियोगिताको तयारीस्वरूप भुटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो ।

पोखरामा हुने अभ्यास खेलले यहाँको क्रिकेट विकाससँगै खेल पर्यटन प्रवर्द्धन तथा पोखरालाई अन्तरराष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

“पोखराको क्रिकेट पूर्वाधार, खेलकुद गतिविधि तथा पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो अभ्यास खेल महत्वपूर्ण हुनेछ”, अध्यक्ष सिग्देलले भन्नुभयो ।

तालिका अनुसार भुटानले असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग, तथा असोज १४ र १५ गते क्यान–११ सँग अभ्यास खेल खेल्नेछ । सबै खेल पोखरा क्रिकेट मैदानमा आयोजना हुनेछन् ।

सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसका दिन पोखरा क्रिकेट मैदानमा भुटान र गण्डकी प्रदेशबीच हुने पहिलो अभ्यास खेललाई क्रिकेट र पर्यटनलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

गण्डकी प्रदेश क्रिकेट सङ्घले पोखरालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको सङ्घका सचिव सुमनराज कार्कीले बताउनुभयो ।

“भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणबाट खेल पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय खेलकुद सम्बन्ध विस्तार तथा पोखराको राष्ट्रिय–अन्तरराष्ट्रिय पहिचान थप मजबुत बनाउन योगदान पुग्ने विश्वास लिएका छौँ । यसबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट गतिविधिको नियमित आयोजना गर्ने वातावरण निर्माण हुनेछ”, सचिव कार्कीले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.