आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खला अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासंग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नामिबियासंग ८ विकेटले पराजित भएको हो ।
शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबियाको सहभागिता रहेको छ । नेदरल्यान्ड्सको उट्रेचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४६.५ ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।
नेपालको लागि कप्तान रोहित पौडेलले ३१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३० रन जोडे । त्यस्तै गुलसन झाले २० रन जोड्दा करण केसीले १८ आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए ।
नामिबियाको लागि जेजे स्मिथले छ विकेट लिए भने ज्याक ब्रासेल र बर्नार्ड स्कोल्जको भागमा समान दुई-दुई विकेट रह्यो । नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
नामिबियाकोलागि यान जेन फ्राइलिन्कले ८९ बलमा ८ चौका र एक छक्कासहित ७७ रनको तथा ओपनर माइकल भान लिंगेनले ७९ बलमा चार चौकासहित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै निकोल लोफ्टी इटन १७ रनमा अविजित रहे । नेपालको लागि नन्दन यादव र रोहित पौडेलले समान एक-एक विकेट लिए ।
अब नेपालले श्रृंखला अन्तर्गत दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससंग खेल्नेछ । लिग २ अंकतालिकामा नेपाल २९ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा रहेको छ भने समान खेलमा २२ अंक जोडेको नामिबिया छैटौं स्थानमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्