हिमताल विस्फोटदेखि तातो लहरसम्म : जलवायु परिवर्तनले नेपालमा बढायो बहुआयामिक संकट
जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा तातो दिन, तातो हावाको लहर तथा तापसम्बन्धी घटना तीव्र बन्दै गइरहेका बेला मौसम पूर्वानुमानलाई दिगो, प्रभावकारी र स्थानीय तहसम्म कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘नेपालमा तापक्रमजन्य अवस्थाका लागि प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी’मा जलवायुजन्य विपद् र संकटहरू वर्षेनी जटिल बन्दै गएको निष्कर्ष सहित सो कुरामा जोड दिइएको हो ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले विभागले जारी गर्ने मौसम तथा तापक्रमको प्रभावमा आधारित पूर्वानुमानले जनचेतना अभिवृद्धि र विपद्पूर्व तयारीमा सकारात्मक प्रभाव पार्न थालेको बताउनुभयो। उहाँले यस्ता पूर्वानुमानलाई थप विश्वसनीय, दिगो र जनमुखी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
मौसमविद् रोजन लामिछानेले तापक्रम वृद्धिले जनजीवन, स्वास्थ्य, कृषि तथा जनधनमा पार्ने असरलाई समेटेर प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणालीलाई अझ व्यवस्थित रूपमा विकास गरिने जानकारी दिनुभयो।
गौर नगरपालिकाकी प्रतिनिधि रोश्नीकुमारी श्रेष्ठले गौर नगरपालिकाले विसं २०७६ देखि आपत्कालीन कार्यसञ्चालन कार्यविधि लागू गरी प्रभावमा आधारित पूर्वानुमान, पूर्वसूचना र पूर्वकार्यलाई स्थानीय तहमा कार्यान्वयन गर्दै आएको बताउनुभयो।
उहाँले तातो हावाको लहरबाट नागरिकलाई सुरक्षित राख्न जनचेतना अत्यावश्यक भए पनि जारी गरिएका चेतावनीलाई नागरिकले सही रूपमा बुझ्ने र त्यसअनुसार व्यवहार गर्ने विषय अझै चुनौतीपूर्ण रहेको बताउनुभयो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले जलवायु परिवर्तनका कारण विश्वभर तातो हावाको लहर तीव्र बन्दै गएको र नेपाल पनि यसको प्रत्यक्ष प्रभावबाट अछुतो नरहेको बताउनुभयो।
कार्यशालामा तापक्रमजन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रभावमा आधारित पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारी बनाउने, पूर्वसूचना प्रणाली सुदृढ गर्ने, जलवायु अनुकूलनका कार्यक्रमलाई व्यवहारमुखी बनाउने तथा संघ, प्रदेश, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय बढाउने विषयमा व्यापक छलफल भएको थियो।
जलवायु परिवर्तनको असरका कारण नेपालमा तातो दिन मात्र बढेका छैनन्, हिमताल विस्फोटको जोखिम, आकस्मिक बाढी, पहिरो, सुख्खा पहिरो, क्लाउड ब्लास्ट शैलीको छोटो समयमै अत्यधिक वर्षा हुने प्रवृत्ति पनि उल्लेख्य रूपमा बढ्दै गएको छ।
विज्ञहरूले मनसुनको स्वरूपसमेत फेरिँदै गएको उल्लेख गर्दै छोटो अवधिमा अत्यधिक वर्षा हुँदा बाढी, डुबान र पहिरोका घटना बढेको, कतिपय क्षेत्रमा समयमै रोपाइँ हुन नसकेको तथा विगत केही वर्षयता यस्ता जलवायुजन्य समस्या लगातार बढ्दै गएको बताएका छन्।
जलवायु अनुकूलनका कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन नसक्दा समुदायको जोखिम अझ बढ्दै गएको उनीहरूको भनाइ छ।




प्रतिक्रिया राख्नुहोस्