मोटरसाइकल मोडिफाइ गर्ने एक हजार ३७१ चालकलाई कारबाही
काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म एक हजार ३७१ चालकलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मोटरसाइकलको साइलेन्सर तथा अन्य संरचना परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, स्टन्ट गर्ने र मध्यरातसम्म सार्वजनिक सडकमा होहल्ला मच्चाउने चालकमाथि निगरानी बढाइएको हो ।
प्रवक्ता सुवेदीले यस्ता गतिविधिका कारण स्थानीय बासिन्दा, पैदलयात्री तथा अन्य सवारी चालकले लामो समयदेखि गुनासो गर्दै आएको जानकारी दिँदै चर्को आवाज निकाल्दै स्टन्ट गर्ने चालकलाई जरिवानासहित कानुनी कारबाही गरिएको बताउनुभयो ।
उहाँका अनुसार यस्ता मोडिफाइड मोटरसाइकलका कारण विशेषगरी साना बालबालिका तर्सिने, रातिको समयमा स्थानीयको शान्ति भङ्ग हुने तथा सडक सुरक्षामा प्रत्यक्ष असर पर्ने गरेको छ । ट्राफिक प्रहरीका अनुसार कतिपय अवस्थामा स्कुटर चलाइरहेका महिलाको छेउमै पुगेर चर्को आवाज निकाल्दै मोटरसाइकल कुदाउँदा उनीहरू आत्तिएर दुर्घटनामा समेत पर्ने गरेका छन् ।
सार्वजनिक सडक सबैको साझा सम्पत्ति भएकाले व्यक्तिगत रमाइलो वा प्रदर्शनका नाममा अरूको सुरक्षा, शान्ति र स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नपाइने स्पष्ट गरेको छ । सडकमा पैदलयात्रीदेखि विभिन्न किसिमका सवारीसाधन एकैसाथ सञ्चालन हुने भएकाले जिम्मेवार र अनुशासित रूपमा सवारी चलाउनुपर्नेमा कार्यालयले जोड दिएको छ ।
प्रवक्ता सुवेदीले ट्राफिक नियमको पालना गर्दै अनावश्यक रूपमा सवारीसाधनको स्वरूप परिवर्तन नगर्न, चर्को आवाज निकाल्ने उपकरण प्रयोग नगर्न तथा अन्य सवारी र पैदलयात्रीप्रति सम्मानजनक व्यवहार गर्न सबै चालकलाई आग्रह गर्नुभयो । आगामी दिनमा पनि यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको ट्राफिक प्रहरीले जनाइएको छ ।
चर्को आवाज निकाल्ने, स्टन्ट गर्ने तथा सार्वजनिक शान्ति र सडक सुरक्षामा असर पुग्ने कुनै पनि गतिविधि सह्य नहुने भन्दै ट्राफिक प्रहरीले नियमविपरीत सवारी सञ्चालन गर्ने चालकलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ ।




प्रतिक्रिया राख्नुहोस्