विश्व समाचार

विश्वमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६४ लाख, भारतमै एकैदिन ५० हजार बढे

विश्वमा सोमबारसम्म एक करोड ६४ लाख ३२ हजार ११० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ५२ हजार ४३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८३९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४९ हजार ८४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३४ हजार २५६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ८ हजार ५९६ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख ८४ हजार ८४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार ५३२ को मृत्यु भएको छ । एसिया ३९ लाख ५ हजार ४३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।

भारतमा एकैदिनमा करिब ५० हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन् ।

प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७९९ सङ्क्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६०६ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.