बिशेषस्वास्थ्य

देशभरका अस्पतालहरुमा आकस्मिक बाहेक सबै सेवा बन्द

वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले आज मंगलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिअनुसार साउन १२ गते (मंगलबार) देशभरका सरकारी, निजी, शिक्षण तथा सामुदायिक अस्पतालमा आकस्मिक सेवाबाहेक ओपीडी, नियमित शल्यक्रिया र अन्य स्वास्थ्य सेवा स्थगित गरिनेछ।

संघले चिकित्सकमाथि बढ्दो हिंसा, स्वास्थ्य संस्थामा भइरहेका तोडफोडका घटना र स्वास्थ्यकर्मीको असुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, सञ्चारकर्मी तथा आम नागरिकलाई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ। थप आन्दोलनका कार्यक्रम क्रमशः सार्वजनिक गरिने पनि संघले जनाएको छ।

संघका अनुसार नारायणी अस्पतालमा उपचारका क्रममा उत्पन्न विवादपछि चिकित्सक डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरिएको थियो भने अस्पतालमा तोडफोडसमेत भएको थियो। घटनामा घाइते भएका चिकित्सक तथा स्वास्थ्यकर्मीको उपचार भइरहेको छ।

नेपाल चिकित्सक संघले घटनामा संलग्न व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

साथै, घटनास्थलमा खटिएका सुरक्षा निकायले समयमै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै त्यसको निष्पक्ष छानबिन गरी जिम्मेवारमाथि पनि आवश्यक कारबाही गर्न आग्रह गरेको छ।

संघले स्वास्थ्य सेवा प्रवाह गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न, स्वास्थ्य संस्थामाथि हुने आक्रमणलाई शून्य सहनशीलताको नीतिअन्तर्गत नियन्त्रण गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

नेपालमा पछिल्ला वर्षहरूमा उपचारको क्रममा बिरामीको मृत्यु वा अन्य विवादपछि चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमण तथा तोडफोडका घटना दोहोरिँदै आएका छन्।

यस्ता घटनापछि चिकित्सक संघले पटक–पटक आन्दोलन गर्दै स्वास्थ्यकर्मीमाथिको हिंसा नियन्त्रणका लागि कानुनको कडाइका साथ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.