अर्थ

नेपाल केरामा आत्मनिर्भर उन्मुख

सरकारले केरा आयातमा लगाएको प्रतिबन्ध, नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा आत्मनिर्भर उन्मुख बनेको छ ।

केरा खेती

केरा खेतीमा लाग्ने घातक पानामा टिआर–४ रोगको जोखिमप्रति सरकारले अपनाएको सजकता र उत्पादन बढाउने किसानको प्रयासपछि केराको परनिर्भरता कम हुँदै गएको छ ।

नेपालमा १५ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केराखेतीमा सात हजार ६०० बढी किसान संलग्न छन् । गतवर्ष नेपालमा सात लाख मेट्रिकटन केरा उत्पादन भएको थियो । वार्षिक नौ लाख मेट्रिकटन केरा खपत हुँदै आएको तथ्याङ्क छ ।

अपुग दुई लाख मेट्रिकटन केरा उत्पादन गर्ने योजनाका साथ काम भइसकेको नेपाल केरा उत्पादक महासङ्घले जनाएको छ । अब नेपाली उत्पादनले बाह्रै महिनाको माग धान्न सक्ने छ । व्यापारीले पनि केराखेतीमा लगानी गरेका छन् ।

केरा बजारमा वार्षिक १२/१३ अर्बको कारोबार हुन्छ । नेपालका फलफूल व्यापारी स्वदेशी केराको उत्पादन बढेसँगै खुसी बनेका छन् । केरामा टिआर–४ रोग देखिऐपछि ‘बायो–सेक्युरिटी’को हिसाबले सरकारले केरा आयातमा कडाइ गरेको थियो ।

गत वर्ष तीज, दसैँ र तिहारमा नेपाली किसानले केरा प्रतिकोसा एक रुपैयाँमा पनि नबिकेर फाल्नुपरेको थियो । यसवर्ष भदौ, असोज र कात्तिकदेखि केराको उत्पादन अत्यधिक हुने अनुमान गरिएको छ ।

केरा आयातमा कडाइ नभएको भए नेपालमा केरा खेती नै विस्थापित हुने खतरा रहेको महासङ्घको भनाइ छ । “मूल्य नपाएर किसान केरा खेती छोडेर कोही विदेशिने अवस्था हुने थियो”, महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले भन्नुभयो ।

केराको आयातमा कडाइसँगै किसान पनि उत्पादन वृद्धिमा लागेको उहाँको भनाइ छ । “सरकारको नीतिगत सम्बोधनपछि हामी किसानले पनि केराको परनिर्भरता अन्त्य हुनुपर्छ भनेर उत्पादन यसरी बढायौँ कि अहिले आत्मनिर्भर उन्मुख छौँ, अर्को वर्ष केरा निर्यात गर्न सक्छौँ”, अध्यक्ष पन्तले रासससँग भन्नुभयो ।

सरकारको सहयोग र किसानको मेहनतको फल अब छिट्टै आमनेपालीले चाख्न पाउने उहाँको भनाइ छ । महासङ्घले यसवर्ष केरामा आत्मनिर्भर र दुई वर्षमा निर्यातको लक्ष्य भेट्याउने भन्दै सरकारलाई विश्वस्त र किसानलाई उत्साहित बनाउँदै आएको थियो ।

“हामीले दुई वर्षमा केरामा आत्मनिर्भर हुन्छौँ भनेका थियौँ, सरकारको सहयोग र किसानको मेहिनतबाट दुई वर्ष पुग्नै परेन, अब अर्को वर्षदेखि नै निर्यात गर्न सक्छौँ”, पन्तले भन्नुभयो ।

तराई/मधेसका क्षेत्र मात्रै होइन, पहाडी क्षेत्रमा पनि केरा खेती विस्तार हुँदै गइरहेको महासङ्घले जनाएको छ । गतवर्ष देशभर ५० देखि ६० लाख केराका नयाँ बिरुवा रोपिएको थियो । पहाडी क्षेत्र केराले भाउ पाएपछि किसानको मुहारमा खुसी छाएको छ ।

मुख्य चाडपर्वमा उपभोक्ताले सस्तोमा केरा पाउँछन्

महासङ्घले निजिकिँदै गरेका ठूला चाडपर्वमा उपभोक्ताले सस्तोमा स्वदेशी केरा खान पाउने दाबी गरेको छ । “आउँदै गरेको दशैँ, तिहार र छठमा उपभोक्तालाई सस्तोमा केरा खुवाउँछौँ, यो महासङ्घको प्रतिबद्धता हो”, अध्यक्ष पन्तले भन्नुभयो ।

किसानले पनि अहिले केराको मूल्य राम्रो पाएका छन् । किसानले मालभोग केराको मूल्य प्रतिदर्जन रु १०० देखि १२० र हरियो केरा (जि–नाइन) को मूल्य प्रतिदर्जन रु ५० देखि ८० सम्म पाउने अवस्था बनेको महासङ्घको भनाइ छ । यसबाट केरा किसान खुसी छन् ।

“अर्को वर्ष योभन्दा पनि अझ सस्तो मूल्यमा उपभोक्ताले केरा पाउनेछन्”, पन्तले भन्नुभयो ।

नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँ स्थानीय उत्पादनले मूल्य पाउँदा किसान उत्साहित बने पनि अझै उपभोक्ताले केरा खान पाउने अवस्था बनिनसकेको बताउनुहुन्छ । अ

झै पनि बजारमा केरा प्रतिदर्जन रु २५० सम्म बिक्री भइरहेको जानकारी दिँदै उहाँले उत्पादन वृद्धिसँगै ग्रेडिङ र प्याकेजिङमा पनि किसानले ध्यान दिनुपर्ने बताउनुभयो ।

“अहिले किसान उत्साहित हुने वातावरण त बनेको छ, तर मूल्य घटाएर उपभोक्तालाई पनि खुसी बनाउनुप¥र्यो”, उहाँले भन्नुभयो । गतवर्षको यही अवधिमा केराले मूल्य नपाएपछि निराश बनेका नेपाली किसान अहिले राम्रो मूल्य पाएपछि उत्साहित बनेको नेपाल केरा उत्पादक महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.