राजनीति

प्रधानमन्त्रीसँग सभामुखको भेट, सुनसरी घटनाबारे संसद्लाई जानकारी गराउन आग्रह

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल गर्नुभएको छ।

संसद्मा जारी अवरोध अन्त्य गर्दै नियमित कार्यसूची अघि बढाउने उपायबारे पनि दुई नेताबीच कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ।

भेटका क्रममा सभामुख अर्यालले हालै सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनाबारे सरकारले प्रतिनिधिसभालाई औपचारिक रूपमा जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।

त्यसका साथै घटनाको यथार्थ विवरण, सरकारले अपनाएका सुरक्षा तथा शान्ति कायम गर्ने कदम र आगामी कार्ययोजनाबारे सदनलाई अवगत गराउन आग्रह गर्नुभएको थियो।

प्रधानमन्त्री शाहले यस विषयमा आवश्यक छलफल गरी उचित निर्णय लिने बताउनुभएको सचिवालयले जनाएको छ। सुनसरीको घटनापछि त्यसको राजनीतिक र संसदीय प्रभाव समेत देखिएको छ।

विपक्षी दलहरूले घटनाबारे प्रधानमन्त्री वा सरकारका तर्फबाट स्पष्ट जवाफ र जानकारी माग गर्दै आएका छन् भने सरकारले घटनाको छानबिन तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरूलाई फिर्ता बोलाएर नयाँ नेतृत्व खटाएको छ।

सभामुख अर्यालले पछिल्ला केही दिनयता संसद्को गतिरोध अन्त्य गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर परामर्श गर्दै आउनुभएको छ। यसअघि उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग भेटवार्ता गर्नुभएको थियो।

त्यसअघि प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टाछुट्टै छलफल गर्नुभएको थियो।

यस्तै, मङ्गलबार सभामुखले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि बैठक गरी प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने, संसदीय मर्यादा कायम राख्ने तथा आगामी बैठकका कार्यसूचीलाई सहमतिका आधारमा व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचारविमर्श गर्नुभएको थियो।

पछिल्ला महिनाहरूमा संसद्मा देखिएको अवरोध, प्रधानमन्त्रीको उपस्थितिलाई लिएर उठेका विवाद तथा संसदीय मर्यादासम्बन्धी बहसपछि सभामुखले निरन्तर राजनीतिक परामर्शलाई तीव्रता दिँदै आउनुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.