अर्थ

प्रभु बैंककी प्रमुख बिजनेस अफिसर रश्मी पन्त पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले प्रभु बैंककी प्रमुख बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तलाई पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार पन्तलाई बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गतको मुद्दामा बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

प्रभु बैंकसँग सम्बन्धित बैंकिङ कसुरको यो प्रकरणमा यसअघि पनि बैंकका उच्च तहका पदाधिकारी र ऋणग्राहीहरू अनुसन्धानको दायरामा परिसकेका छन्।

गत वर्ष तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल तथा अन्य केही व्यक्तिलाई पनि यही प्रकरणमा पक्राउ गरी अनुसन्धान गरिएको थियो।

पछिल्ला केही सातायता सीआईबीले प्रभु बैंकबाट प्रवाह भएका केही ठूला कर्जा, कर्जा दुरुपयोग तथा बैंकिङ कसुरसँग सम्बन्धित घटनामा अनुसन्धानलाई तीव्र बनाएको छ।

यस क्रममा एशियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा र व्यवसायी शंकर अग्रवाल पनि बैंकिङ कसुर मुद्दामा पक्राउ परिसकेका छन्। अनुसन्धान नेपाल राष्ट्र बैंकको प्रतिवेदन तथा अन्य वित्तीय कारोबारसँग सम्बन्धित सूचनाका आधारमा अघि बढिरहेको जनाइएको छ।

प्रहरीका अनुसार रश्मी पन्तको पक्राउसँगै उक्त प्रकरणमा बैंकका तत्कालीन पदाधिकारी, ऋण स्वीकृति प्रक्रिया तथा कर्जा परिचालनसँग सम्बन्धित निर्णयहरूको समेत विस्तृत अनुसन्धान भइरहेको छ। अनुसन्धान जारी रहेकाले यस विषयमा थप विवरण आउन बाँकी रहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.