विश्व समाचार

न्युयोर्कका मेयर ममदानीमाथि नेतान्याहुको ‘घृणा फैलाएको’ आरोप

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्युयोर्क सहरका मेयर जोहरान ममदानीमाथि यहुदी समुदायविरुद्ध घृणा फैलाएको आरोप लगाउनुभएको छ ।

नेतान्याहुलेले आफूलाई संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क आए पक्राउ गर्न सकिने सङ्केत दिएको विषयलाई अस्वीकार गर्दै सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन आफू न्युयोर्क जाने निर्णय यथावत् रहेको पनि स्पष्ट पार्नुभएको छ ।

फक्स न्युजका प्रस्तोता सीन ह्यानिटीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री नेतान्याहुले आफू संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभामा भाग लिन न्युयोर्क जाने बताउँदै सत्य प्रस्तुत गर्न पछि नहट्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले ममदानीले न्युयोर्कका विभिन्न समुदायबीच विभाजन सिर्जना गर्न खोजेको र विशेष गरी यहुदी समुदायविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिएको आरोप लगाउनुभयो । उहाँले यस्तो अवस्था देख्दा सन् १९३० को दशकको सम्झना आउने टिप्पणी पनि गर्नुभयो ।

प्रधानमन्त्री नेतान्याहुको यो प्रतिक्रिया ममदानीले आफू उहाँसँग सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिन इच्छुक नरहेको अभिव्यक्ति दिएपछि आएको हो ।

ममदानीले ब्रुकलिनमा आयोजित पत्रकार सम्मेलनमा न्युयोर्कका सबै नागरिक, विशेषगरी यहुदी समुदायको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको बताउनुभएको थियो ।

उहाँका अनुसार न्युयोर्कमा यहुदी समुदाय घृणाजन्य अपराधबाट सबैभन्दा बढी प्रभावित समुदायमध्ये एक भएकाले उनीहरूको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य छ ।

पत्रकार सम्मेलनका क्रममा ममदानीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कुराकानीमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को अधिकारक्षेत्र स्वीकार गर्ने र नेतान्याहुलाई पक्राउ गर्ने आफ्नो अघिल्लो धारणा उठेको थियो वा थिएन भन्ने प्रश्न पनि सोधिएको थियो । त्यसको जवाफमा उहाँले राष्ट्रपति ट्रम्पसँगको निजी संवाद सार्वजनिक नगर्ने बताउनुभयो ।

यस विवादको पृष्ठभूमिमा गत साता म्यानहट्टनको अपर वेस्ट साइडमा भएको छुरा प्रहारको घटना पनि जोडिएको छ । ५१ वर्षीय राउल मोरालेसमाथि दुई जनामाथि आक्रमण गरेको आरोपमा घृणाजन्य अपराधसहित दोस्रो श्रेणीको हत्या प्रयासको अभियोग लगाइएको छ ।

अभियोजनकर्ताका अनुसार मोरालेसले पहिलो आक्रमणमा ५७ वर्षीय एक एसियाली मूलका व्यक्तिलाई पछाडिबाट छुरा प्रहार गर्नु अघि ‘अल्लाहु अकबर’ भन्दै कराएको आरोप छ ।

त्यसपछि केही दूरीमा उनले किप्पा लगाएका एक यहुदी व्यक्तिमाथि पनि छुरा प्रहार गरेको अभियोजन पक्षको दाबी छ । उक्त घटनाले न्युयोर्कमा यहुदी समुदायको सुरक्षासम्बन्धी बहसलाई थप तीव्र बनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.