जल/वातावरण

पर्सामा कोरोना कहर : सांसद प्रदीप यादवसहित ६४ जनामा कोरोना संक्रमण

पर्सामा कारोना भाइरस संक्रमणले उग्ररुप लिएको छ । पछिल्लो समय प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज–१३ राधेमाई बस्ने सांसद यादवसँगै स्वाब दिएका उहाँका सवारी चालक र पीएसओ पनि संक्रमित भएका हुन् । सांसद यादवले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमणको पुष्टि गर्दै आफ्नो स्वास्थ्यस्थिति सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको जानकारी दिनुभएको छ ।

त्यस्तै नारायणी अस्पतालका चिकित्सक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

वीरगञ्ज– ६ माईस्थान मिना बजार क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । मास टेष्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा संक्रमण देखिएको छ । १० जना संक्रमित वीरगञ्ज–२५ ड्राईपोर्ट सिर्सिया क्षेत्रका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद यादवसहित १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् ।

त्यस्तै रौतहटको चपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जना पारामेडिक्समा पनि कोरोना संक्रमण देखिएको छ ।

नारायणी बयोधा अस्पतालबाट पठाइएको स्वाब परीक्षण गर्दा वीरगञ्ज–१६ नगवा बस्ने ६८ र ५० वर्षीया महिला, एपोलो अर्थोमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ५१ र ४२ वर्षीय पुरुष, सिर्सिया सुख्खा बन्दरगाहमा कार्यरत एक संक्रमित र आदर्शनगरका एक संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका क्रमशः १५ वर्षीय किशोर र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आफैं पीसीआर परीक्षण गराउन आएका वीरगञ्ज–१६ नगवाका ३३ वर्ष, महाविरस्थानका ४२ वर्षीय पुरुष, वीरगञ्ज–१२ मुर्लीका २५ र ४३ वर्षका पुरुष, वीरगञ्ज–२३ सबैठवाका २३ वर्षीय पुरुष, पर्सागढी नगरपालिका–४ का २३ वर्षका पुरुष, पकाहामैनपुर गाउँपलिकाका ३० वर्षका पुरुष, परवानीपुरका ५५ वर्षका पुरुष, रौतहटको जयनगरका २५ वर्षका पुरुष र वीरगञ्ज–१० रानीघाटका ३२ वर्षका पुरुषको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

पर्सामा यसअघि नै आइसोलेसनको अभावमा १ सय २६ जना संक्रमित घरमै छन् । सबैभन्दा बढी वीरगञ्जमा १ सय १८ जना अस्पताल बाहिर छन् । वीरगञ्ज स्थित अस्थायी कोरोना अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.