मध्यपूर्वमा सबै मोर्चाको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी सबै प्रकारका सैन्य गतिविधि तत्काल अन्त्य गरी कूटनीतिक समाधानतर्फ अघि बढ्न सम्बन्धित पक्षहरूलाई आह्वान गर्नुभएको छ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “यस क्षेत्रमा सबै मोर्चामा भइरहेको युद्ध अन्त्य हुनुपर्छ। होर्मुज जलडमरूमध्य र बाब–अल–मन्दब जलडमरूमध्य तथा वरपरको क्षेत्रमा अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गर्ने अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित हुनुपर्छ। अन्ततः कूटनीतिले नै विजय हासिल गर्नुपर्छ।”
उहाँले खाडी क्षेत्रमा विगत छ महिनादेखि बढ्दै गएको सैन्य तनाव अब क्षेत्रीय द्वन्द्वमा मात्र सीमित नरही विश्वव्यापी अस्थिरताको प्रमुख कारण बन्दै गएको चेतावनी दिनुभयो।
महासचिव गुटेरेसका अनुसार होर्मुज जलडमरूमध्य हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार गम्भीर रूपमा प्रभावित भएको छ। ऊर्जा बजार अस्थिर बनेको, खाद्यान्न तथा रासायनिक मलको मूल्य उल्लेखनीय रूपमा बढेको र विश्वव्यापी आपूर्ति प्रणालीमा दबाब परेको उहाँले बताउनुभयो।
“विश्वभरका धेरै परिवारलाई दैनिक खाद्यान्न जुटाउन कठिन भइरहेको छ। किसानहरू आधारभूत कृषि सामग्री किन्न नसक्ने अवस्थामा पुगेका छन् भने आर्थिक रूपमा कमजोर मुलुकहरू अझ ठूलो संकटतर्फ धकेलिएका छन्,” उहाँले भन्नुभयो।
उहाँका अनुसार विश्व खाद्य कार्यक्रम ले जारी गरेको चेतावनीअनुसार वर्तमान परिस्थितिका कारण करिब ४ करोड ५० लाख मानिस गम्भीर खाद्य असुरक्षाको जोखिममा पर्न सक्छन्। बढ्दो महँगी र सुस्त आर्थिक वृद्धिका कारण थप लाखौं मानिस पुनः गरिबीतर्फ धकेलिने खतरा रहेको उहाँले उल्लेख गर्नुभयो।
यसैबीच, अमेरिकी पक्षले हमासले आफ्ना हतियार त्याग्ने र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषयमा सहमति भएको घोषणा गरेको घटनालाई महासचिव गुटेरेसले “सकारात्मक समाचार” भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “यी उद्देश्य कार्यान्वयन गर्न स्पष्ट मार्गचित्र तयार भएको घोषणा भइसकेको छ। कुनै शंका, अविश्वास वा त्यसलाई कमजोर बनाउने प्रयास नगरी सो मार्गचित्रको पूर्ण पालना गरिनुपर्छ। अब दुवै पक्षले सहमतिलाई व्यवहारमा उतार्ने समय आएको छ।”
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गर्नुभएको उक्त शान्ति मार्गचित्र कार्यान्वयनको क्रम, हमासको निःशस्त्रीकरण र इजरायली सेना फिर्ताको समयतालिकाबारे अझै मतभेद कायम रहेको जनाइएको छ।
इजरायलले औपचारिक रूपमा योजना अनुमोदन गरिसकेको छैन भने हमासले पनि इजरायली सेना फिर्ता र युद्धविरामसँगै चरणबद्ध रूपमा सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेको छ।




प्रतिक्रिया राख्नुहोस्