जापानका करिब तीन चौथाइ नागरिकले देशको दीर्घकालीन ‘तीन गैर–आणविक सिद्धान्त’लाई यथावत् कायम राख्नुपर्ने पक्षमा मत व्यक्त गरेका छन्।
जापानी समाचार संस्था क्योडो न्युजले आइतबार सार्वजनिक गरेको राष्ट्रव्यापी जनमत सर्वेक्षणअनुसार ७६ प्रतिशत उत्तरदाताले जापानले आणविक हतियार नबोक्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा आणविक हतियार प्रवेश गर्न नदिने नीतिलाई निरन्तरता दिनुपर्ने बताएका हुन्।
सर्वेक्षणले दोस्रो विश्वयुद्धको पीडादायी अनुभवबाट गुज्रिएको जापानी समाजमा शान्ति, निशस्त्रीकरण र आणविक हतियारविरोधी चेतना अझै बलियो रहेको देखाएको छ।
सन् १९४५ मा दोस्रो विश्वयुद्धका क्रममा हिरोसिमा र नागासाकीमा परमाणु बम खसालिएपछि लाखौं मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए।
मानव इतिहासमा युद्धमा आणविक हतियार प्रयोग गरिएका ती दुई घटना आज पनि विश्व शान्ति र आणविक निशस्त्रीकरण अभियानका सबैभन्दा बलिया प्रतीकका रूपमा स्मरण गरिन्छ।
यही ऐतिहासिक पृष्ठभूमिका कारण जापानले सन् १९६७ मा तत्कालीन प्रधानमन्त्री एइसाकु सातोको नेतृत्वमा ‘तीन गैर–आणविक सिद्धान्त’ अघि सारेको थियो, जसलाई पछि संसदले पनि समर्थन गरेको थियो।
जापानले आणविक ऊर्जा शान्तिपूर्ण प्रयोजनका लागि प्रयोग गरे पनि आणविक हतियार विकास नगर्ने अडानलाई आफ्नो सुरक्षा र विदेश नीतिको आधारका रूपमा निरन्तर अघि बढाउँदै आएको छ।
पछिल्ला वर्षहरूमा उत्तर कोरियाको आणविक कार्यक्रम, चीनको सैन्य विस्तार तथा क्षेत्रीय सुरक्षा चुनौती बढिरहेका बेला पनि अधिकांश जापानी नागरिकले शान्ति नीतालाई कमजोर बनाउन नहुने धारणा व्यक्त गरेका छन्।
सर्वेक्षणमा सरकारले गत अप्रिलमा दशकौँदेखि कायम रहेको घातक हतियार निर्यात प्रतिबन्ध हटाउने निर्णयबारे पनि नागरिकको धारणा लिइएको थियो।
त्यसक्रममा ३६ प्रतिशत उत्तरदाताले मित्रराष्ट्रलाई समेत अघातक (घातक नभएका) सैन्य सामग्री मात्र निर्यात गर्नुपर्ने बताएका छन्। यस्तै ५३ प्रतिशत ले घातक हतियार निर्यातसम्बन्धी प्रतिबन्ध यथावत् राख्न वा सरकारको निर्णय पुनर्विचार गर्नुपर्ने मत दिएका छन्।
विश्लेषकहरूका अनुसार युक्रेन युद्ध, मध्यपूर्वको अस्थिरता र विश्वव्यापी सुरक्षा प्रतिस्पर्धा बढ्दै गए पनि जापानी समाजमा शान्तिवाद र आणविक हतियारविरोधी भावना अझै गहिरो रूपमा स्थापित रहेको यस सर्वेक्षणले देखाएको छ।
संयुक्त राष्ट्रसंघले पनि लामो समयदेखि विश्वव्यापी आणविक निशस्त्रीकरणको पक्षमा वकालत गर्दै आएको छ। जापानले हरेक वर्ष हिरोसिमा र नागासाकीमा आयोजित स्मृति समारोहमार्फत आणविक हतियारको भयावह परिणाम स्मरण गराउँदै विश्व समुदायलाई यस्ता हतियारको पूर्ण उन्मूलनका लागि एकजुट हुन आग्रह गर्दै आएको छ।
क्योडो न्युज र त्यससँग आबद्ध संस्थाहरूको सहभागितामा गठन गरिएको जापान एसोसिएसन फर पब्लिक ओपिनियन रिसर्चले १८ वर्ष वा सोभन्दा माथिका तीन हजार नागरिकलाई समेटेर गत जुन र जुलाई महिनामा उक्त जनमत सर्वेक्षण सञ्चालन गरेको थियो।




प्रतिक्रिया राख्नुहोस्