जन सरोकार

मेलम्चीमा पहिरोबाट निर्माणाधीन कभर्डहल पुरियो : ३ जनाको शव भेटियो ५ बेपत्ता

आइतबार रातिदेखि भएको वर्षाका कारण सोमबार विहान सोमबार बिहान साढे ३ बजेतिर मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव भेटिएको छ ।

गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।

पहिरोमा ७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका हुन । बेपत्ता नेपालीहरु पर्साका भएको बुझिएको प्रहरीले बताएको छ । पहिरोले कभर्ड हलको आधा भाग र मजजदुर बस्ने टहरो पूरै पुरेको छ । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।

पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।

यसै गरी बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने छ भने बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ ।

पहिरोले खारा बजारका अन्य सात घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन् । वर्षा हुँदा साथ आउन सक्ने पहिरोको जोखिमले स्थानीय त्रासमा छन् । जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने पुरिने जोखिममा भएपछि नौ घर परिवार विस्थापित भएको निसीखोला–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिनुभयो । “प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ”, उहाँले भन्नुभयो, “जोखिम पछि पूर्ववत् सजगता अपनाउनु पर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिक स्थलमा बस्न भनेका छौँ ।” निसीखोलामा पछिल्लो तीन वर्षयता हुल्दी पहिरोले पनि स्थानीय आजित छन् ।

ढोरपाटन नगरपालिका–८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन् । शनिबार बिहान खसेको पहिरोले स्थानीय काली विक, पोप्ची विक, बाँवरी विक र रोशन विकको घर जोखिममा परेको हो । अहिले विस्थापित परिवार छिमेकीको सहयोगमा आश्रयमा लिएर बसेका छन् ।

अलि ठूलो वर्षा हुन साथ थप जोखिम र भयको अवस्था रहेको पहिरो प्रभावित रोशन विकले बताउनुभयो । पहिरोकै कारण सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ ढोरपाटन खण्ड अवरुद्ध भएको छ । “अहिले गाउँ गाउँ टोल टोल र घर घरमा सडक पुर्याउनका लागि खनिएको मोटरबाटो पहिरोको मुख्य कारण बनेको छ”, उहाँले भन्नुभयो, “अब यसलाई व्यवस्थित नगर्ने हो भने ठूलो जनधनको क्षति हुने देखिएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.