देश बलियो बनाउने आधार तयार गर्न समय लाग्छ : महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले देश बलियो बनाउने आधार तयार गर्न समय लाग्ने भन्दै मुलुकमा लामो समयदेखि थुप्रिएको बेथिति अन्त्य गर्दै दिगो परिवर्तनका लागि सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताउनुभएको छ ।
रास्वपा रुपन्देहीले भैरहवामा आयोजना गरेको पदस्थापना, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा महामन्त्री आचार्यले चार महिनाको अवधिमै सरकारको सम्पूर्ण कामको मूल्याङ्कन गर्नुभन्दा सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले देश निर्माणका लागि तत्काल परिणाम खोज्नेभन्दा दीर्घकालीन आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
“छत्तीस वर्षदेखि बिग्रिएको व्यवस्था चार महिनामै परिवर्तन हुन्छ भन्ने हुँदैन । छिटो परिणाम देखाउने नाममा गरिएको काम दिगो नहुन सक्छ । देश बलियो बनाउने आधार तयार गर्न समय लाग्छ”, महामन्त्री आचार्यले भन्नुभयो ।
महामन्त्री आचार्यले रास्वपा तथा सरकारका काममा कमजोरी देखिए खुलेर प्रश्न गर्न नागरिकलाई आग्रह गर्नुभयो । नागरिकको प्रश्न र खबरदारीलाई आफूहरूले सकारात्मक रूपमा लिने उल्लेख गर्दै उहाँले त्यस्ता प्रश्नले पार्टीलाई थप जिम्मेवार र बलियो बनाउने बताउनुभयो । “हामीले गलत काम गर्यौँ भने प्रश्न गर्न नहिचकिचाउनुहोस् । तपाईँहरूको प्रश्नले हामीलाई सच्याउने र बलियो बनाउने काम गर्छ”, उहाँले भन्नुभयो ।
सरकारप्रति नागरिकले गरिरहेको खबरदारीलाई विरोधका रूपमा मात्र बुझ्न नहुने महामन्त्री आचार्यले बताउनुभयो । सरकारसँग नागरिकको अपेक्षा धेरै भएकाले प्रश्न र आलोचना भइरहेको उहाँको भनाइ थियो ।
रास्वपा स्थापना भएको चार वर्ष पुगेको उल्लेख गर्दै उहाँले सरकार सञ्चालनको प्रारम्भिक चरणमै सबै समस्या समाधान भइसक्ने अपेक्षा व्यावहारिक नहुने बताउनुभयो । सरकारले सही दिशामा काम गर्न खोजेको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका आचार्यले विगतका सरकारका समयमा विभिन्न अनियमितता तथा काण्डसँग सम्बन्धित समाचार आउने गरेको दाबी गर्दै पछिल्लो चार महिनामा त्यस्तो अवस्था नरहेको बताउनुभयो ।
उहाँले केन्द्र सरकारले अघि बढाउन खोजेका कतिपय काममा विभिन्न किसिमका अवरोध सृजना गर्ने प्रयास भइरहेको आरोपसमेत लगाउनुभयो । ग्यास तथा मल वितरणलगायतका विषयमा समस्या सृजना गरिएको उल्लेख गर्दै उहाँले सरकारलाई काम गर्न सहज वातावरण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले मुलुकमा विद्यमान बेथिति अन्त्य नगरेसम्म अपेक्षित परिवर्तन सम्भव नहुने बताउनुभयो ।
उहाँले आफूहरू सरकारको विरोध गर्न नभई नागरिकका समस्या सरकारसम्म पुर्याउन र आवश्यक ठाउँमा खबरदारी गर्न सक्रिय रहेको स्पष्ट पार्नुभयो ।
रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग नागरिकको ठूलो अपेक्षा रहेको बताउँदै ती अपेक्षा पूरा गर्न सरकार र पार्टीले जनतासँग निरन्तर संवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य डा लेखजङ्ग थापा, तौफिक अहमद खाँ, मञ्जु भुसाल, पुनम अग्रवाल, सुशान्त वैदिकलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्