हिमाल आरोहणका लागि नयाँ शुल्क, सगरमाथाका लाग १५ हजार डलर
सरकारले आगामी आरोहण यामदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य हिमालहरुको आरोहणका लागि नयाँ शुल्क निर्धारण गरेको छ ।
पर्यटन विभागका अनुसार आगामी भदौ १६ गतेदेखि आरोहण अनुमति लिने विदेशी नागरिकले सगरमाथा आरोहण गर्न १५ हजार अमेरिकी डलर दस्तुर तिर्नुपर्ने छ ।
विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ अनुसार भदौ १६ गतेदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ सलामी दस्तुर लागु हुँदै छ ।
नयाँ दस्तुर सगरमाथा र अन्य हिमालमा याम अनुसार फरक फरक तोकिएको छ । दस्तुर कम हुँदा हिमाल चढ्ने धेरै हुने र त्यही कारण सगरमाथालगायत हिमाली क्षेत्रमा फोहोर, प्रदूषण बढ्नुका साथै अत्यधिक भिड लाग्न थालेको छ । त्यसैले सरकारले एक दशकपछि हिमाल चढ्दा लाग्ने दस्तुर बढाएको हो ।
बढाइएको शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्त याममा सगरमाथाको नर्मल रुट (दक्षिणपूर्व) बाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ । त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर सरकारलाई बुझाउनुपर्ने छ । हाल शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिने गरिन्छ ।
विभागका अनुसार सगरमाथाको दक्षिणपूर्वी रुटबाहेक अन्य रुटमा आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुको पाँच हजार डलर र शिशिर र वर्षा ऋतुको दुई हजार पाँच सय डलर बुझाउनुपर्ने छ ।
त्यस्तै नेपाली आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा एक लाख ५० हजार रुपियाँ बुझाउनुपर्ने छ । शरद ऋतुमा ७५ हजार रुपियाँ र बाँकी याममा ३५ हजार रुपियाँ कायम गरिएको छ ।
सगरमाथा बाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार पाँच सय र ७५० डलर शुल्क निर्धारण गरिएको छ । हालसम्म यस्तो शुल्क एक हजार आठ सय, नौ सय र ४५० डलर रहेको छ ।
त्यस्तै सात हजार ५०१ देखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहणका लागि एक हजार, पाँच सय र २५० अमेरिकी डलर तोकिएको छ । हालसम्म यो दर छ सय, तीन सय र १५० अमेरिकी डलर रहेको छ ।
विभागका अनुसार सात हजारदेखि सात हजार पाँच सय मिटरसम्म उचाइ भएका हिमाल आरोहण गर्न आठ सय, चार सय र दुई सय डलर पुर्याइएको छ । हाल यो उचाइको हिमाल चढ्न पाँच सय, २५० र १२५ डलर लाग्दै आएको छ ।
त्यस्तै छ हजार ५०१ देखि छ हजार ९९९ मिटरसम्मका लागि पाँच सय, २५० र दुई सय अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ । अहिले उक्त हिमाल आरोहण गर्न चार सय, दुई सय र एक सय अमेरिकी डलर लाग्ने गरेको छ ।
छ हजार पाँच सय मिटरभन्दा कम उचाइका हिमालका लागि ३५०, १७५ र १८५ डलर शुल्क पुर्याइएको छ । हालसम्म यस्तो शुल्क २५०, १२५ र ७० डलर रहँदै आएको थियो ।




प्रतिक्रिया राख्नुहोस्