जन सरोकार

पोखरा स्कुल बस दुर्घटना : कारण पत्ता लगाउन महानगरले गठन गर्‍यो छानबिन समिति

पोखरा महानगरपालिका–२८, ओख्लेस्थित भीरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक स्थानीयवासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

शुक्रबार बिहान करिब ६ः३० बजे माझठानाबाट कालिका इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस ओख्लेको भीरमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा मृत्यु हुनेमा कालिका इङ्लिस बोर्डिङ स्कुलका १३ वर्षीय ममता तिवारी, असीम कँडेल, १४ वर्षीया रुमिका नेपाली र सुभेच्छा तिवारी रहेका छन्। बसमा लिफ्ट मागेर चढेका पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनापछि कालिका र माझठाना क्षेत्र शोकमा डुबेको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन्। समितिलाई दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित विषयमा अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार समितिले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र सुझावसहित प्रतिवेदन पेस गर्नेछ।

प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा विद्यार्थी, चालक र सहचालक गरी २२ जना सवार थिए। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमान्डमा सात जना र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा १५ जना प्रहरी उद्धारमा खटिएका थिए।

त्यसपछि सशस्त्र प्रहरी बल कालिका गण, पोखरा र नेपाली सेनाको टोलीसमेत उद्धारमा पुगेको थियो। संयुक्त उद्धार टोलीले बिहान पौने ९ बजेसम्म घटनास्थलबाट सबैलाई उद्धार गरेको थियो।

घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। उपचाररत विद्यार्थीमा पोखरा–२८, सौर्यकी १६ वर्षीया सृष्टि तिवारी, सोही स्थानका १६ वर्षीय सिसन थापा मगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिना रहेका छन्।

अन्य घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये पोखरा–२८, माझठानाकी १५ वर्षीया अस्मी कँडेलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उहाँको टाउको र ढाडमा चोट लागेको छ।

अस्पतालमा उपचाररत अन्य घाइतेमा मादी गाउँपालिका–१२, पहिरेकी १४ वर्षीया स्नेहा खत्री, माझठानाका १३ वर्षीय सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी र १६ वर्षीय यमन मगर रहेका छन्। बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ।

उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीय प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका थिए। उपचारपछि उहाँ डिस्चार्ज भइसक्नुभएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.