जल/वातावरण

शव हेर्दैमा कोरोना सर्दैन- छुँदा, हात मुसार्दा, चुम्बन गर्दा भने संक्रमणको खतरा

कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट पनि संक्रमण हुनसक्ने आशंका भैरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ को नसर्ने बताएको छ । शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका जवानहरुमा कोरोना संक्रमण भेटिएपछि त्यस्तो आशंका गरिए पनि मन्त्रालयले भने शवले हाछ्यूँ नगर्ने र श्वास फेर्न नभएकाले सङ्क्रमण नसर्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र सङ्क्रमण सर्ने सम्भावना हुन्छ । अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ ।

परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने नपाइने उहाँले बताउनुभयो ।

स्वास्थ्यकर्मी र उद्योगमा कार्यरत कर्मचारीको अनिवार्य पिसीआर

यसै गरी मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ । सङ्क्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्वस्थ्य राखी नियमित सेवामा कठिनाइ हुन नदिनका लागि उनीहरुको अनिवार्य पिसिआर परीक्षण गर्न निर्देशन दिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यस्तै सपिङ मल, रेष्टुराँ, होटल र उद्योगमा काम गर्ने सबै कर्मचारीका अनिवार्य पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ ।

ठूला शहरमा सङ्क्रमण बढ्दै गएका अवस्थामा पछिल्लो अवस्थामा व्यवसायमा संलग्न व्यक्ति धेरैको सम्पर्कमा आउने र जोखिम बढ्ने भएकाले त्यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीको सम्बन्धित उद्योग व्यवसायले आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्ने व्यवस्था गराउन निर्देशन दिइएको डा गौतमले जानकारी दिनुभयो ।

उहाँले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.