विश्व समाचार

भारत स्वतन्त्रता दिवसमा मोदीको खुलासा : कोरोनाका तीन खोप परीक्षणको चरणमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताउनुभयो ।

देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उहाँले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रतिरक्षात्मक सामग्रीहरुको उत्पादनमा पनि व्यापक बृद्धि भइरहेको बताउनुभयो । खोप उत्पादनका लागि बैज्ञानिकहरुले कडा मेहनत गरिएको उहाँको भनाई छ ।

“अहिले भारतमा एउटा हैन, दुईटा हैन, तीन ओटा खोपको परीक्षणको चरण चलिरहेको छ, चाडै नै सकारात्मक नतिजा सार्वजनिक हुने बैज्ञानिकहरुले बताएका छन्, त्यो परीक्षण सफल भएपछि ठूलो मात्रामा औषधीको उत्पादन गर्ने तयारी पनि भइरहेको छ,” उहाँले भन्नुभयो ।

भारतमा कोरोनाको महामारी शुरु हुदाँ एउटा मात्रै प्रयोगशाला रहेको स्मरण गर्दै प्रधानमन्त्री मोदीले अहिले त्यो संख्या बढेर १४ सयभन्दा बढी प्रयोगशाला बनिसकेको बताउनुभयो । उहाँले कोरोनाविरुद्धको खोप तथा उपचारका लागि १०३ करोड भारतीय रुपैया कोषमा राखिएको बताउनुभयो ।

कोरोनाविरुद्धका खोप उत्पादन सम्वन्धी महत्वकांक्षी सपना चाडै नै व्यवहारमा देख्न सकिने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री मोदीले केही महिनामा ठूलो मात्रामा एन ९५ मास्क, पिपिई भेन्टिलेटरलगायतका सामग्रीहरु भारतले विश्व बजारमा निर्यात गर्ने दाबी गर्नुभयो ।

भारतभर आज अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यसै क्रममा बिहान ७ः१५ बजे प्रधानमन्त्री नरेन्द्र मोदी भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको सामान्य समारोहलाई सम्बोधन गर्नुभएको थियो ।

बिहान भारत लालकिल्लास्थित इन्डिया गेटमा उहाँ पुग्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको थियो । उहाँलाई लालकिल्लामा आयोजित एक विशेष समारोहमा भारतीय उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको झण्डाको झण्डोत्तोलन गर्नुभएको थियो । उहाँलाई त्यस क्रममा भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । उहाँलाई सेनाले सम्मानस्वरुप गार्ड अफ अनर दिएपछि डायसमा पुगेर बस्नुभएको थियो । त्यस क्रममा भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रस्तुत गरिने सम्मान स्वरुपका विविध कार्यक्रमहरु हेर्नुभएको थियो ।

भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।
सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । यस अवसरमा भारतको लालकिल्लामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ । यस अवसरमा प्रधानमन्त्री मोदीले गर्नुभएको सम्बोधनमा भारतले छिमेकी मुलुकहरुसँग सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध राम्रो बनाएको बताउनुभएको थियो ।

स्वतन्त्रता दिवसका अवसरमा आज दिल्लीको लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकका नेताहरुले यस क्षेत्रको विकासमा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रधानमन्त्री मोदीले यस क्षेत्रमा शान्ति आएसँगै मानवताको हितमा कामहरु हुने पनि बताउनुभयो । उहाँले केही समयदेखि भारतले पश्चिम एशियासँगको सम्बन्धलाई अझ बलियो बनाएको र ती देशसँग भएका ऊर्जा क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.