जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न उपराष्ट्रपतिद्वारा ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले भौगर्भिक अवस्थिति तथा पटक–पटक गइरहने भूकम्पका कारण देशभरका दर्जनौँ मानव वस्ती पहिरोको जोखिममा रहेको औँल्याउँदै जोखिममा रहेका मानव वस्ती यथाशक्य चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्न सबै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
शनिबार एक वक्तव्य जारी गर्दै उहाँले विश्वव्यापी महामारी कोरोना भाइरसको सामना गरिरहेको कठिन परिस्थितिमा सिन्धुपाल्चोक, कालिकोट, जाजरकोट, तनहुँ, गोरखा, दार्चुला, काठमाडौँ, दोलखा, ललितपुर, भोजपुर, मकवानपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रे, धादिङलगायत जिल्लामा बाढीपहिरोबाट राष्ट्र नै शोकमा पर्ने गरी भएको ठूलो मानवीय तथा भौतिक क्षतिका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सो आग्रह गर्नुभएको हो ।
उपराष्ट्रपतिले सिन्धुपाल्चोकको लिदीलगायत मुलुकका विभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपका कारण भएको मानवीय तथा भौतिक क्षतिले स्तब्ध बनाएको बताउनुभएको छ । प्राकृतिक प्रकोपका कारण ज्यान गुमाएका दिदीबहिनी तथा दाजुभाइमा श्रद्धाञ्जलि तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा शुक्रबार पहिरोले बस्ती बगाउँदा बेपत्ता भएका नागरिकको खोजीमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले चालिरहेका कदमको स्रहाना गर्दै उपराष्ट्रपतिले खोजी कार्यलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
उहाँले पहिरोबाट विस्थापितका लागि पर्याप्त राहत र घाइतेको उचित उपचारका लागि सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।
वर्षाको समय अझै बाँकी रहेको र मौसमविद्ले बाढीपहिरो तथा डुबानको सम्भावना औँल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न उपराष्ट्रपतिले सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्