"विकृत मानसिकताका भद्दा टिप्पणीको पछि हैन आफ्नो भविष्य निर्माणमा जुट"
गीता श्रेष्ठ
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको २०७६ को एसईई परीक्षालाई विद्यालयहरुको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा बोर्डले नतिजा प्रकाशन गरेपछि सामाजिक सञ्जालहरुमा अति निकृष्ट किसिमका टिप्पणी भए । बालबालिकाको भविष्यको ख्यालै नगरी उनीहरुमा मानसिक यातना दिने काम सामाजिक सञ्जालबाट भयो । एसईईको नतिजापछि जेजस्ता टिप्पणीहरु भए यसले सामाजिक सञ्जाल असामाजिक जालोका रुपमा परिणत भयो । सामाजिक सञ्जालबाट असामाजिक टिप्पणी गर्दै सामाजिक मर्यादाको घोर अपमान भयो ।
अलिकति मानवीय सम्वेदनशीलताको समेत ख्याल नगरी विद्यार्थीहरुको मानसिकतामा कस्तो असर पर्छ भन्ने सोच्दैनसोची गरिएका टिप्पणीहरुले विद्यार्थीहरु विक्षिप्त बन्न पुगेका छन् । यस्तो लाग्थ्यो एसईईको नतिजा परीक्षाविना सार्वजनिक गर्नुको कारण र यसो नगर्दा उत्पन्न हुनसक्ने नकारात्मक असरको कसैले ख्याल गरेको पाइएन । एउटा विद्यार्थीले १० वर्षसम्म विद्यालय शिक्षामा गरेको मेहेनत, अभिभावकको लगानी र शिक्षक–शिक्षिकाको परिश्रमको फल एसईई परीक्षापछिको उच्च शिक्षा हो । यसलाई ध्यानमा राखेर सरकारले विद्यालयको मूल्यांकनलाई आधार मानेर नतिजा सार्वजनिक गरेको हो । यसलाई लिएर बालबालिकाको मानसिक सन्तुलन नै खलबलिने गरी टिप्पणी गर्दा मानवीय सम्वेदनशीलता कता हरायो ?
हुन त अहिले विश्वभरकै मानिसमा विक्षिप्तता पैदा भएको छ । सायद कोरोनाको कहरले मस्तिष्कमा गढेको विकारको उपज होला यस्तो टिप्पणी ! तर यस्तो टिप्पणीको असर आफ्नै छोराछोरी, भाइ–भतिजालाई पनि पर्छ भन्ने ख्याल नहुनु चाहिं महामूर्खता नै हो । एसईई नतिजा सार्वजनिक भएपछि फेसबुकका भित्ताहरु जसरी रंगियो सायद यति नकारात्मकता यसअघि कहिल्यै अभिव्यक्त भएको थिएन ।
नतिजा सार्वजनिक भएदेखि व्यक्त नकारात्मक टिप्पणीले आम विद्यार्थीहरुको मनस्थिति नै खलबलिने स्थिति उत्पन्न भएको छ । विना गर्भाधान बच्चा जन्मियो भन्ने किमिसको टिप्पणी गर्नेहरुले के बुझ्नु आवश्यक छ भने एसईई परम्परागत परीक्षाबिना नतिजा आउनु भनेको पढ्दै नपढी आएको हैन । नतिजाको एउटा प्रक्रिया मात्र अबरुद्ध भएको हो– त्यो पनि वैश्विक परिस्थितिका कारण ।
हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने विद्यालयको मूल्यांकनको आधार भनेको ९५ प्रतिशत परीक्षा नै हो । त्यो मूल्यांकन सेन्टअप परीक्षामा आधारित हो । अर्को महत्वपूर्ण कुरा एउटा विद्यार्थीलाई पढाउने शिक्षकले जति उसको क्षमता चिनेको हुन्छ उसले दिएको परीक्षाको उत्तर पुस्तिका परीक्षण गर्नेले बुझेको हुँदैन । किताब अगाडि राखेर उत्तरपुस्तिका जाँच्नेले भन्दा वर्षौंदेखि पढाएर परीक्षा लिएका शिक्षकले गरेको मूल्यांकन उत्तम हुन्छ । १० वर्षसम्म पढाउने शिक्षकको मूल्यांकन कुनै विद्यार्थीको अनुहार नै नदेखेकाले कपी हेरेर गरेको मूल्यांकन कुनै अर्थमा कमजोर हुँदैन ।
कुनै पनि विषयमा नकारात्मक प्रतिक्रिया मात्र जनाउने हो भने यसले हामीलाई कहीं कतै पुर्याउँदैन । अर्को महत्वपूर्ण कुरा के छ भने विद्यालयले पठाएको मूल्यांकन मात्रै नतिजा प्रकाशको आधार थिएन, हैन । त्यहाँ कुनै मूल्यांकनमा शंका लागेमा परीक्षा बोर्डले पुनः परीक्षण गर्ने प्रावधान थियो, गरेको छ । कतिपय विद्यालयहरुले त्यस्तै शैलीमा मूल्यांकन पठाएपछि पुनः पठाउन निर्देशन दिएको थियो । तसर्थ हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने विषम परिस्थितिले उत्पन्न यो अवस्थालाई मजाक र आक्रोश व्यक्त गर्ने मौकाका रुपमा नलिऔं ।
अन्त्यमा, आम विद्यार्थीहरु जो भविष्यमा उच्च शिक्षाको तयारीमा छन्, केही विकृत मानसिकता भएकाहरुको टिप्पणीलाई लिएर कुण्ठित हुनु आवश्यक छैन । १० वर्षको मेहेनतको फल योभन्दा राम्रो पनि हुनसक्थ्यो वा योभन्दा कमजोर पनि हुनसक्थ्यो– यसलाई सामान्य रुपमा लिएर आफ्नो अगाडिको बाटो तय गर्नु नै सबैको भलाई छ । सबैले एउटा प्रण गर्नुछ– एसईईको नतिजा “आफ्नो हात जगन्नाथ” भयो भन्नेहरुलाई गलत सावित गर्ने गरी आगामी अध्ययन सुरु गर्नुपर्छ । सुखद भविष्यको शुभकामना !
(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)
प्रतिक्रिया राख्नुहोस्