जन सरोकार

कोरोना रोकथाममा युवालाई रचनात्मक रूपमा परिचालनमा जोड

कोभिड–१९ र अन्य प्राकृतिक विपत्तिको क्षति न्यूनीकरणमा युवा शक्तिलाई सकारात्मकरूपमा परिचालन गर्न आग्रह गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) आबद्ध क्लबहरूको राष्ट्रिय महासङ्घद्वारा आज भर्चुअलरूपमा आयोजित ‘युवा र कोभिड–१९’ विषयक संवादमा युवालाई हरेक क्षेत्रमा अगाडि बढाउँदै उनीहरूको प्रतिभा र शक्तिलाई समाज विकासमा सदुपयोग गराउनुपर्नेमा जोड दिइएको हो ।

शिक्षाविद् प्रा डा प्रेमनारायण अर्यालले कार्यपत्र प्रस्तुत गर्दै अल्पविकसित मुलुकमा १३ प्रतिशत महिला र २२ प्रतिशत पुरुष मात्र माध्यमिक शिक्षामा प्रवेश गरेको स्थितिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा युवाका पहुँच बढाउन आवश्यक रहेको बताउनउभयो । उहाँले युवा सक्रिय र ऐक्यबद्ध भएमा सामाजिक एकता र राष्ट्र विकासमा योगदान पुग्ने भएकाले युवालाई जवाफदेही बनाउन तालीमलगायत कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । नेपालमा कूल जनसङ्ख्याको करिब ४० प्रतिशत युवा (१६ देखि ४० वर्ष उमेर) छन् ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले युवाले कोरोना रोकथाम र उपचारमा सचेतना फैलाउन सक्रिय भूमिका निर्वाह गरिरहेकाले नीतिगतरूपमा सबै क्षेत्रमा उनीहरूको उपस्थिति बढाएर जिम्मेवारी दिन आग्रह गर्नुभयो । उहाँले राजनीतिक र अन्य क्षेत्रमा उपस्थिति बढाउन राज्य र सम्बद्ध सबै पक्षले अग्रसरता लिनुपर्ने जनाउनुभयो ।

प्रस्तुतिमाथि टिप्पणी गर्दै हरिवंश किराँतले युवा नै वर्तमान र भविष्यको शक्ति भएकाले कोरोना रोकथाम र उपचारमा युवाले गरेका रचनात्मक कामहरूलाई बाहिर ल्याउन आग्रह गर्नुभयो । युनेस्को काठमाडौँका राष्ट्रिय कार्यक्रम प्रमुख बलराम तिमल्सिनाले युवाको गुणस्तरीय व्यक्तित्व विकाले परिवार, समाज र राष्ट्रलाई योगदान दिन सक्ने भएकाले युवा परिचालनलाई युनेस्कोले निरन्तर महत्व दिँदै आएको उल्लेख गर्नुभयो ।

शिक्षा पत्रकार प्रकाश सिलवालले सामाजिक रूपान्तरणका लागि युवाबाट भएका रचनात्मक र नवप्रवर्तनात्मक कार्यहरूलाई थप उजागर गर्न र राष्ट्रिय युवा नीति, २०७२ लाई युवाको चाहना तथा आवश्यकतानुसार कार्यान्वयन गराउन सुझाव दिनुभयो । शान्ति, मैत्री तथा आपसी सद्भाव, सहनशीलता, मानवाधिकारको सम्मान, सहकार्य र सामूहिक प्रयास, सामाजिक न्याय तथा उपलब्धिको न्यायोचित वितरण, रचनात्मक सिर्जनशीलताद्वारा शान्ति, प्रगति र समृद्धिको प्रवद्र्धन र संस्थागत विकास युनेस्कोका आदर्श मानिन्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.