अर्थ

रसुवाको बाढीबाट १३ विद्युत् आयोजना प्रभावित, ७४८ मेगावाट क्षमता जोखिममा

रसुवामा बुधबार बिहान आएको भीषण बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १३ वटा विद्युत् आयोजना प्रभावित भएका छन्।

नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीबाट ८ वटा सञ्चालनमा रहेका र ५ वटा निर्माणाधीन आयोजना प्रभावित भएका हुन्।

प्राधिकरणका अनुसार बाढीबाट प्रभावित सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता ३५४ मेगावाट छ। त्यस्तै निर्माणाधीन ५ आयोजनाको कुल क्षमता ३९४ मेगावाट रहेको छ। यसरी बाढीबाट प्रभावित विद्युत् आयोजनाको कुल जडित क्षमता ७४८ मेगावाट रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

रसुवाका आयोजना बढी प्रभावित
रसुवामा सञ्चालनमा रहेका प्रमुख जलविद्युत् आयोजनामध्ये २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, १२० मेगावाटको रसुवा–भोटेकोशी, ६.४२ मेगावाटको माथिल्लो मेलुङ–ए, ७८ मेगावाटको सान्जेन खोला, २० मेगावाटको लाङटाङ खोला र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्।

बाढीले आयोजनाका बाँध, विद्युत्गृह, पहुँचमार्ग, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा क्षति पु¥याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, कुन आयोजनामा कति क्षति भयो भन्ने यकिन विवरण भने स्थलगत अध्ययनपछि मात्रै प्राप्त हुने प्राधिकरणले जनाएको छ।

नुवाकोटका आयोजना पनि प्रभावित
भोटेकोशीमा आएको बाढीको प्रभाव रसुवामा मात्रै सीमित नरही छिमेकी नुवाकोटका जलविद्युत् तथा ऊर्जा आयोजनामा समेत परेको छ।

नुवाकोटमा सञ्चालनमा रहेका प्रमुख आयोजनामा २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना, १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा जलविद्युत् आयोजना र २५ मेगावाटको सोलार आयोजना रहेका छन्।

प्रारम्भिक विवरणअनुसार नुवाकोटमा सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १२३ मेगावाट रहेको छ। बाढीका कारण त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुगेको बताइएको छ।

नुवाकोटमा माथिल्लो त्रिशूली–३ बी (३७ मेगावाट) र मिडल त्रिशूली गंगा (१५.६ मेगावाट) निर्माणाधीन अवस्थामा रहेका छन्। यी दुई आयोजनाको कुल क्षमता ५२.६ मेगावाट छ।

यसैगरी, बाढीका कारण २५ मेगावाट क्षमताको सोलार आयोजनाको तीनवटा ब्लक तथा सबस्टेसनमा समेत क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

वास्तविक क्षतिको विवरण आउन बाँकी
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको विवरण प्रारम्भिक भएकाले बाढीबाट आयोजनाका संरचनामा भएको वास्तविक क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

बाढीका कारण बाँध, विद्युत्गृह, पहुँचमार्ग, प्रसारण लाइन, सबस्टेसनलगायत संरचनामा भएको क्षतिको स्थलगत निरीक्षण तथा प्राविधिक मूल्याङ्कनपछि मात्रै वास्तविक अवस्था यकिन हुने प्राधिकरणले जनाएको छ।

भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीले ऊर्जा आयोजनाका साथै सडक, पुल तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पु¥याएकाले विद्युत् उत्पादन, प्रसारण तथा आयोजनाको निर्माण कार्यमा समेत असर पर्नसक्ने देखिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.