जन सरोकार

३२ प्रतिशत मृत्यु कोरोनाका कारण, बचाउन सकिने उमेर समूहका पनि जोखिममा

केही महिनाअघिसम्म नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्युको तथ्यांक एकदमै न्यून थियो । तर जब साउनको पहिलो साताबाट लकडाउन खुला गरियो मृत्युदर र संक्रमितहरुको संख्या यो ३६ दिनको बीचमा संक्रमण दोब्बर भयो भने मृतकको संख्या तीनगुणा बढेको छ ।

मृतकको संख्या अहिले पनि दुईसय कटेको छैन तर एक महिनाको अवधिमा जेजस्तो उमेर समूहका संक्रमितहरुको मृत्यु भएको छ यो निकै डरलाग्दो छ । करिब ३२ प्रतिशत मृत्यु कोरोनाजन्य जटिलताका कारण भएको जनस्वास्थ्यविद् बताउँछन । उनीहरुका अनुसार विकसित देशहरु बढी उमेर समूहका व्यक्तिहरुलाई पनि बचाउन सफल भएका छन् । नेपालमा भने बचाउन सकिने उमेर समूहहरु पनि जोखिममा पर्ने खतरा छ ।

हालसम्म मुलुकमा कोभिड–१९ कै कारणले भन्दा पनि अरू नै स्वास्थ्य समस्या भएकामा यसको संक्रमण हुँदा बढी मृत्यु भएको ठानिँदै आएकामा अब यो गलत सावित भएको छ । कोभिड–१९ बाट बुधबारसम्म मृत्यु भएका १ सय ७५ जनाको तथ्यांक केलाउँदा कोरोनाजन्य जटिलताकै कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ ।

कोभिड–१९ सँग मात्रै सम्बन्धित जटिलताले देशभरमा ५६ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमशः पहिल्यै निमोनिया, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।

कान्तिपुर दैनिकको समाचार अनुसार कोभिड–१९ का कारण मृत्यु पुष्टि भएकामध्ये करिब ३२ प्रतिशतको कोभिडसम्बद्ध कुनै न कुनै प्रकारको जटिलताले ज्यान गएको छ । बाँकीमा अरू स्वास्थ्य समस्या रहेको देखिन्छ । अन्य स्वास्थ्य समस्यासँगै निमोनिया भएका बिरामीको संख्या पनि बढी छ । अरू रोगसँगै निमोनिया देखिएका बिरामी करिब १७ प्रतिशत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षभन्दा माथिका ६८ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ज्यान गुमाएकामा ४१ देखि ६० वर्ष उमेर समूहका छन् । यो उमेर समूहका ७१ जनाको मृत्यु भएको छ । यो उमेर समूहमा पनि विभिन्न रोगका साथै केहीमा कोभिड–१९ सँग सम्बन्धित जटिलता मात्रै देखिएको थियो ।

१९ वर्षदेखि ४० वर्ष उमेर समूहका २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो उमेर समूहकामा भने प्रायः सबैमा कोभिड–१९ सँग सम्बन्धित जटिलता नै मृत्युको मुख्य कारण छ । यस्तै नवजात शिशुदेखि १८ वर्ष उमेर समूहका ७ जनाको मृत्यु भएको छ । यो उमेर समूहका अधिकांशलाई झाडापखालाको समस्या देखिएको थियो । म्याग्दीका ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ती बालकको मिर्गौलामा गम्भीर समस्या थियो ।

मन्त्रालयको तथ्यांकअनुसार कोभिड–१९ का कारण बुधबारसम्म काठमाडौं उपत्यकामा २२ जनाको मृत्यु भएको छ, जसमा १३ पुरुष र ९ महिला छन् । तीमध्ये ४ जनाको मात्रै कोभिड–१९ ले निम्त्याएको जटिलताले ज्यान गएको देखिन्छ । अन्यमध्ये ७ जनामा मिर्गौलाको समस्या थियो भने ७ जनालाई उच्च रक्तचाप थियो । बाँकीमा मुटु रोग र मधुमेहलगायत समस्या थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत डा. दिनेश न्यौपानेका अनुसार विश्वमा जस्तै नेपालमा पनि कुल मृत्युदर शून्य दशमलव ५ प्रतिशत छ । ‘केही समय अगाडि धेरैले नेपालीलाई केही हुँदैन, यहाँ विदेशमा जस्तो मान्छे मर्दैनन् भन्थे,’ उनले भने, ‘अब त्यो सबै गलत रहेछ भनेर देखिएको छ । विश्वको तथ्यांकले जे देखाएको छ, अहिले यहाँ त्यही देखिएको छ । डर त विश्वको त्यो तथ्यांकभन्दा बढीको मृत्यु हुन्छ कि भन्ने हो ।’

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै ७१ जनाको प्रदेश २ मा मृत्यु भएको छ । प्रदेश २ को पनि पर्सामा सबैभन्दा बढी ३१ जनाले ज्यान गुमाएका छन् । त्यही प्रदेशको धनुषामा १२ जनाको कोभिडका कारण मृत्यु भएको छ । पर्साको छिमेकी जिल्ला बारामा पनि १० जनाले ज्यान गुमाएका छन् । प्रदेश २ का अन्य जिल्लामा भने मृत्युको संख्या दोहोरो अंकमा छैन । कोरोनाले वाग्मती प्रदेशमा ३७ जनाको मृत्यु भएको छ ।

प्रदेश ५ मा २३ जनाले ज्यान गुमाएका छन् । यस प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ९ सय २२ छ । यो प्रदेशमा सबैभन्दा धेरै रूपन्देहीमा ६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १० जनाको ज्यान गएको छ । मुलुकमा सबैभन्दा पहिलोपटक दोस्रो स्तरको संक्रमण देखिए पनि यो प्रदेशमा धेरै हताहती भएका छैनन् । हाल यो प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ६ सय ३१ रहेको छ । तीमध्ये ४ हजार ५ सय ९४ जना संक्रमण मुक्त भएको तथ्यांक छ । गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । गण्डकीमा संक्रमितको संख्या २ हजार ६५ छ । कर्णालीमा २ हजार ४ सय २ जनालाई संक्रमण देखिएको छ जहाँ ४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबर

Back to top button