रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी (पूर्व) मा १३४, नवलपरासी (पश्चिम) मा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् । गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरणले जनाएको छ ।
यसै गरी नेपाल प्रहरीले हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेका छन् भने बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ५४५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ । हाल काठमाडौँका विभिन्न अस्पतालमा ८७ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।




प्रतिक्रिया राख्नुहोस्