अर्थबिशेष

३६ घण्टा अवधिमा रु एक अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा रु एक अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ । यो सहायतामा रकममा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन ।

अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ः०० बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो ।

विभिन्न १० वाणिज्य बैकहरूमा रहेको खातामा रु एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गर्नुभएको हो ।

बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो ।

सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा तोकेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संस्थागततर्फ रु एक करोड वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहनुभएको छ ।

यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नुहुनेछ । यससँगै कोषमा बचत रकम रु चार अर्ब नौ करोड ११ लाख ६० हजार पुगेको छ । यसअघि कोषमा रु दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ बचत थियो ।

बिहीबार छ घण्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालयमार्फत रु २७ करोड ३३ लाख सहयोग प्राप्त भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.