विपद्को मौका छोपेर सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली वक्तव्य तयार गरी प्रचार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
प्रहरीका अनुसार रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नं. २ ठोसे बस्ने वर्ष ३२ को भगवान कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गरेको स्टेटमेन्ट बनाएर आफ्नो क्यूआर राखेर प्रचार गरेका थिए ।
कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि सरकारले जारी गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख २० हजार रुपैयाँ सहयोग गरेको भनी च्याट जिपिटीबाट नक्कली स्टेटमेन्ट तयार गरी आफ्नो क्यूआर कोडसमेत सामाजिक सञ्जालहरुमा पोष्ट गरेका थिए ।
प्राकृतिक विपद्का बेला जनजीवन अस्तव्यस्त हुने र पीडितलाई तत्काल राहत तथा सहयोगको आवश्यकता पर्ने भएकाले यस्ता अवसरलाई आपराधिक समूह तथा व्यक्तिले ठगीको माध्यम बनाउने जोखिम बढ्ने गरेको छ।
विशेषगरी सामाजिक सञ्जालमार्फत सरकारी निकाय, राहत कोष, गैरसरकारी संस्था तथा विभिन्न अभियानको नाम दुरुपयोग गरी आर्थिक सहयोग माग्ने, नक्कली सूचना फैलाउने र सर्वसाधारणबाट रकम संकलन गर्ने प्रवृत्ति बढ्न सक्छ।
यस्ता गतिविधिले सर्वसाधारणलाई आर्थिक रूपमा ठगीमा पार्नुका साथै वास्तविक विपद् पीडितसम्म पुग्नुपर्ने राहत र सहयोगसमेत प्रभावित पार्छ। जनताको विश्वासमा आधारित राहत तथा उद्धार अभियानमा नक्कली सूचना र ठगी फैलिँदा वास्तविक पीडितले पाउनुपर्ने सहयोग अन्यत्र मोडिन सक्ने भएकाले यसलाई सामान्य आपराधिक गतिविधिका रूपमा मात्र लिन नहुने सरोकारवालाको भनाइ छ।
विपद्को पीडामा रहेका नागरिकको संवेदनशील अवस्थाको फाइदा उठाएर ठगी गर्नु अत्यन्त अमानवीय र निन्दनीय कार्य हो। दुःखमा परेका नागरिकलाई सहयोग गर्न चाहने सर्वसाधारणको भावनाको दुरुपयोग गर्दै रकम असुल्ने वा गलत सूचना फैलाउने जोसुकैलाई पनि कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ।
सरकार तथा सुरक्षा निकायले राहत तथा सहयोगका नाममा हुने ठगी नियन्त्रण गर्न निगरानी बढाउनुपर्ने देखिन्छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका राहतसम्बन्धी सूचना, बैंक खाता, डिजिटल वालेट तथा सहयोग आह्वानको आधिकारिकता यकिन नगरी रकम पठाउन नहुनेतर्फ सर्वसाधारणलाई पनि सचेत गराउन आवश्यक छ।
विपद्का बेला राज्यका निकाय, सामाजिक संस्था, निजी क्षेत्र र सर्वसाधारण एकजुट भएर पीडितको उद्धार तथा राहतमा जुटिरहेका हुन्छन्।
यस्तो मानवीय प्रयासलाई कमजोर पार्ने गरी ठगी, झूटा सूचना र नक्कली राहत अभियान सञ्चालन गर्ने व्यक्तिमाथि तत्काल अनुसन्धान गरी दोषी प्रमाणित भए कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ। यसबाट मात्र विपद्को पीडामा रहेका नागरिकको नाममा हुने आर्थिक अपराध नियन्त्रण गर्नुका साथै राहत र सहयोग वास्तविक पीडितसम्म पुर्याउन सकिन्छ।




प्रतिक्रिया राख्नुहोस्