सिंगापुर मध्यपूर्वबाट हुँदै घर फर्किंदै अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’
मध्यपूर्वमा लामो समयसम्म सैन्य तैनाथी पूरा गरेपछि अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकन आइतबार बिहान सिंगापुर हुँदै स्वदेशतर्फ फर्किएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान १ बजेर केही मिनेटपछि सिंगापुरनजिकैको समुद्री क्षेत्रमा उक्त विशाल युद्धपोत गुज्रिएको देखिएको एसोसिएटेड प्रेस (एपी) का पत्रकारहरूले जनाएका छन्। सिंगापुर जलडमरूमध्यको पारिपट्टि रहेको इन्डोनेसियाको बाताम टापुबाट एपीका पत्रकारहरूले युद्धपोतलाई नियालेका थिए।
अमेरिकी नौसेनाका सबैभन्दा ठूला युद्धपोतमध्ये एक यूएसएस अब्राहम लिंकनले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीलाई सहयोग गर्दै मध्यपूर्व क्षेत्रमा लामो समयदेखि तैनाथी गर्दै आएको थियो।
लिंकनको पछिल्लो तैनाथी अमेरिकी नौसैनिक इतिहासमै असाधारण रूपमा लामो मानिएको छ। उक्त युद्धपोतले २५० दिनभन्दा बढी समय निरन्तर समुद्रमै बिताएको बताइएको छ।
लामो समयसम्मको निरन्तर तैनाथीका कारण युद्धपोतमा कार्यरत सैनिकको मानसिक स्वास्थ्य र दैनिक आवश्यक सामग्रीको उपलब्धताबारे समेत चिन्ता बढेको थियो। चालक दलका सदस्यमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको तथा खाना र व्यक्तिगत सरसफाइका सामग्रीलगायत आवश्यक वस्तुको अभाव देखिएको रिपोर्ट सार्वजनिक भएका थिए।
मध्यपूर्वबाट फर्किने क्रममा लिंकन केही समयका लागि थाइल्यान्डमा रोकिने भएको छ। थाई अधिकारीहरूका अनुसार युद्धपोतलाई आराम तथा पुनःस्थापनाका लागि थाइल्यान्डमा बन्दरगाह भ्रमण गराइने र त्यसपछि अमेरिकास्थित आफ्नो सैन्य आधारतर्फ फर्काइनेछ।
लिंकनको लामो तैनाथी र त्यसले चालक दलमा पारेको असरले अमेरिकी नौसेनाको लामो समयसम्म चल्ने सैन्य परिचालन, सैनिकको मानसिक स्वास्थ्य तथा आवश्यक स्रोत–साधन व्यवस्थापनबारे नयाँ प्रश्नसमेत उठाएको छ।




प्रतिक्रिया राख्नुहोस्