भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायले सहयोग गरिरहेका छन्।
बाढीबाट जनधनको ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारत र चीनले सुरुआती दिनदेखि नै राहत सामग्री, सुरुङ उद्धार टोली तथा प्राविधिक जनशक्ति उपलब्ध गराएका छन्। विभिन्न अन्तर्राष्ट्रिय संस्थाले समेत प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
आज आइतबार बिहान चीनको जनमुक्ति सेना वायुसेनाका दुईवटा ढुवानी विमान चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्। ती विमानमा चारजना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन्।
चीनको छेन्दु शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमान करिब तीन घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन्। ती विमानले पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक, प्राथमिक उपचार किटलगायत १३ हजार दुई सय थान आपत्कालीन राहत सामग्रीसहित ५० टन सामग्री ल्याएका छन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार चिनियाँ टोलीमा आएका चारजना सुरुङ विशेषज्ञले भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा जारी खोज तथा उद्धार कार्यमा नेपाली सुरक्षाकर्मी र प्राविधिक टोलीसँग समन्वय गरी सहयोग गर्नेछन्।
यसअघि नै भारतबाट समेत राहत सामग्रीसहित सुरुङ उद्धार तथा फरेन्सिक विज्ञको टोली नेपाल आइसकेको छ। भारतबाट ११ टन राहत सामग्री बोकेको चौथो चरणको उडान आज बिहान काठमाडौँ आइपुगेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ।
भारतबाट आएको पछिल्लो राहत सामग्रीमा खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ उद्धार प्राविधिक टोली, मृतकका अवशेषको पहिचानका लागि डीएनए विश्लेषण गर्ने फरेन्सिक विज्ञको टोली तथा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइ किटलगायत सामग्री रहेका छन्।
स्थलगत निरीक्षण टोलीको मूल्याङ्कनका आधारमा विशेष उपकरणसहित १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार टोली नेपाल आएको हो। उक्त टोलीले नेपाली विपद् प्रतिकार्य टोलीले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछ। मृतकका अवशेषको पहिचानका लागि डीएनए नमुना विश्लेषणमा सहयोग गर्न छवटा फरेन्सिक टोलीका १९ सदस्यीय समूह पनि नेपाल आएको दूतावासले जनाएको छ।
भारतले शनिबारसम्म भारतीय वायुसेनाका विमानमार्फत नेपालमा करिब ५७ दशमलव ५ टन राहत सामग्री ढुवानी गरिसकेको छ। बाढी आएको बुधबार नै भारतीय वायुसेनाको विमानले अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती तथा औषधिलगायत १० टन आकस्मिक राहत सामग्री नेपाल ल्याएको थियो।
त्यसको भोलिपल्ट बिहीबार भारत सरकारले पाल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती, पानी निकाल्ने पम्प, भान्साका सामग्री, जेनेरेटर सेट, औषधि तथा खाद्य सामग्रीसहित ३७ दशमलव ५ टन राहत सामग्री पठाएको थियो।
त्यसपछि शुक्रबार भारतले पाँच सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार प्रारम्भिक निरीक्षण टोली र छ सदस्यीय चिकित्सा टोली पठाउनुका साथै पोर्टेबल जेनेरेटर सेट, डिग्निटी किट, खाद्य सामग्री, पानी शुद्धीकरणका ट्याब्लेट तथा औषधिसहित थप १० टन सामग्री पठाएको थियो।
सुरुङ उद्धारमा भारत र चीनका विशेषज्ञ
भोटेकोशी बाढीबाट प्रभावित कतिपय जलविद्युत् आयोजनाका सुरुङमा अझै मानिस फसेको आशंकाबीच भारत र चीनका सुरुङ उद्धार टोली उद्धार कार्यमा खटिएका छन्। दुवै छिमेकी मुलुकका सुरुङ उद्धार टोली शनिबार नेपाल आइपुगेका थिए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले सञ्चालन गरिरहेको उद्धार अभियानमा भारतीय तथा चिनियाँ सुरुङ विज्ञले प्राविधिक सहयोग गरिरहेका छन्। जोखिमपूर्ण सुरुङभित्र उद्धार कार्यका लागि आवश्यक उपकरण, प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदानले उद्धार अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
पछिल्लो जानकारीअनुसार प्रभावित क्षेत्रबाट शनिबार साँझसम्म ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। तीमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ भने बाँकी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार प्रयास जारी राखेको जनाएको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालित छन्।
बाढीले पूर्वाधारमा व्यापक क्षति
भोटेकोशी नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा रहेका आवासीय क्षेत्र, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा अत्यावश्यक सेवाको पुनःस्थापनाको काम भइरहेको छ।
बाढीको प्रभाव नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा समेत परेको छ। सीमापारि चीनको तिब्बत क्षेत्रमा परेको प्राकृतिक विपद्का कारण समेत भोटेकोशी नदीको बहावमा अचानक वृद्धि भएको र त्यसको प्रभाव नेपालतर्फ देखिएको हो। यस विपद्ले नेपाल र चीन दुवैतर्फ सीमावर्ती क्षेत्रमा पूर्वाधारमा क्षति पुर्याएको छ।
यस अवस्थामा चीनले राहत सामग्री मात्र नभई सुरुङ उद्धारका लागि विशेषज्ञ टोली र उपकरणसमेत पठाएर नेपाललाई आवश्यक सहयोग उपलब्ध गराएको हो। चीनले विपद्को कठिन अवस्थामा नेपाललाई आवश्यकताअनुसार थप सहयोग गर्न तयार रहेको जनाएको छ।
अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक सहयोग
प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट पनि आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आएको छ।
एशियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) स्वरूप ५० लाख अमेरिकी डलर, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट पाँच लाख अमेरिकी डलर तथा अष्ट्रेलिया सरकारबाट १० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको छ।
त्यसैगरी, एडीबीले प्राविधिक सहायताका लागि थप एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्