राजनीति

राप्रपाले रोज्यो उम्मेद्वार चयनमा रास्वपाको बाटो, रास्वपाले भन्यो ‘स्याबास’

कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने भएको छ ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले मंगलबार बसेको पार्टीको संसदीय समितिको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार, नवीन कार्ययोजनाको मोडल अनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरिएको हो ।

जिल्ला कार्यसमितिबाट सिफारिस भएर आएका आकांक्ष उम्मेदवारहरूमध्ये प्रारम्भिक मतदानबाट छनोट हुने र ‘आन्तरिक प्रारम्भिक निर्वाचन यथाशिघ्र गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाको आन्तरिक प्रारम्भिक निर्वाचनका मतदाताहरू रुपन्देही–३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र रुपन्देही–३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु रहनेछन् ।

त्यसै गरी रुपन्देही–३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु प्रारम्भिक मतदाता हुनेछन् ।

यसै गरी रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु, २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु तथा २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही–३ अन्तर्गतका सक्रिय सदस्यहरु मतदाता रहनेछन्।

राप्रपाको यो निर्णयलाई रास्वपाले सकारात्मक रुपमा लिएर स्वागत भन्दै ‘स्याबास’ भनेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सोही माध्यमबाट डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरिसकेको छ ।

नेपालमा पहिलो पटक प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छनोटको अभ्यास थालेको रास्वपाले आफ्नो वाचापत्रमा उल्लेखित राम्रा कामको प्रशंसा गर्ने नीतिअनुसार राप्रपाको निर्णयलाई सकारात्मक भनेको हो।

मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रास्वपाले लेखेको छ, “हामीले वाचापत्र लेख्दै गर्दा एउटा कुरा प्रष्ट भनेका थियौं, हाम्रो यो वाचापत्रको सर्वाधिकार नेपाली जनतामा निहित रहनेछ। यस वाचापत्रका कुनै पनि अंश वा वाचाहरू कुनै पनि नेपाली दल वा सरकारद्वारा पुनरुत्पादन, कार्यान्वयन वा कपी गरेको पाइएमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सधन्यवाद स्याबास भनिने छ।”

रास्वपाले अगाडि भनेको छ, “स्याबास राष्ट्रिय प्रजातन्त्र पार्टी, उम्मेदवार छनोट गर्ने हेतु आन्तरिक प्रारम्भिक निर्वाचन गर्ने दिशामा अघि बढेकोमा !”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.