राजनीति

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न गगनको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । थापाले सामाजिक सञ्जालमार्फत सो आग्रह गर्नुभएको हो ।

महामन्त्री थापा

सरकारले फेसबुक, ट्वीटर (एक्स), युटुब, ह्वाट्सएप लगायत नेपालमा दर्ता नभएका दुई दर्जन बढी सामाजिक सञ्जाल आज भदौ १९ गतेदेखि बन्द गर्ने निर्णय गरेपछि थापाले सो आग्रह गर्नुभएको हो ।

थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्णय गलत रहेको र सरकार उल्टो बाटो हिँडेको भन्दै यमा पुनर्विचार गरिनुपर्ने बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ-

सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ।

यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ।

आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ।

सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ।

सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ। त्यसैले सरकार सँग पुनः आग्रह छ-यो निर्णय पुनर्विचार गरियोस।

सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.