कर्पोरेट/पर्यटन

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवद्र्धनमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका छन् ।

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

पोखरा–दुबई नियमित उडानबारे नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा पोखरामा आयोजित अन्तरक्रियामा पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडानलाई प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिइएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा उडानले यहाँको पर्यटन क्षेत्रले मात्र लाभ लिने नभई सिङ्गो गण्डकी प्रदेश र मुलुककै आर्थिक गतिविधिमा टेवा पुग्ने बताउनुभयो ।

लामो प्रतिक्षापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यसको सफलतामा पोखरेलीको भविष्य जोडिएको उहाँको भनाइ छ ।

अध्यक्ष भुजेलले पोखरा–दुबई हवाई उडानलाई सफल र दिगो बनाउन पोखरेली पर्यटन व्यवसायी एक्यबद्ध रूपमा लागिपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानले सफल बनाउनु सम्बद्ध सबै पक्षको दायित्व भएको उल्लेख गर्नुभयो । “पोखरालाई विश्वास गरेर फ्लाई दुबई यहाँ आएको छ, हामी सबैले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्छ”, उहाँले भन्नुभयो ।

पहिलोपटक हुनलागेको यस उडानको दिगोपनाका लागि आउन सक्ने चुनौतीलाई सामाना गर्दै अवसरमा बदल्नुपर्ने उहाँले बताउनुभयो । पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय जगतमा पहिचान दिन फ्लाई दुबईको उडानले मद्दत पुग्ने उहाँको भनाइ छ ।

फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य पाँच हजारसम्म सस्तो रहेको बताउनुभयो ।

उहाँले विश्वका १२० भन्दाबढी गन्तव्यमा फ्लाई दुबईले सिधा उडान गर्दै आएको जनाउँदै टिकट बुकिङमा सहयोग गर्न ‘नाट्टा’सँग आबद्ध व्यवसायीलाई आग्रह गर्नुभयो । महाप्रबन्धक शाहीले पोखरा–दुबई उडान प्रवद्र्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई छुटलगायतका सुविधा दिइने बताउनुभयो ।

कार्यक्रममा फ्लाई दुबईका दक्षिण पूर्वीएसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले फ्लाई दुबईका सेवा र विशेषताबारे प्रस्तुतिकरण राख्नुभएको थियो । उहाँले पोखरा–दुबई उडान सफल भएमा अन्य अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनी पनि पोखरामा आकर्षित हुने बताउनुभयो । क्षेत्रीय प्रबन्धक अब्राहमले उडान सेवालाई दिगो र प्रभावकारी बनाउन सबै पक्षको साथ, सहयोग र एक्वबद्धता चाहिने उल्लेख गर्नुभयो ।

‘नाट्टा’ गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले पोखरा–दुबई उडान सफल हुँदा पर्यटन व्यवसायी मात्र नभई मुलुकको अन्य क्षेत्रले पनि प्रत्यक्ष लाभ लिने बताउनुभयो । उहाँले पोखरेली पर्यटन व्यवसायी यस उडानको सफलता, निरन्तरताका लागि आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

केही दिनअघि पोखरा महानगरपालिका र फ्लाई दुबइबीच पनि पर्यटन प्रवद्र्धन, गन्तव्यस्थलको बजारीकरण, अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी भएको थियो ।

यस उडानले पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखराका विभिन्न सङ्घसंस्थाले चासो र अग्रसरता देखाएका छन् । उडान सेवालाई स्थायित्व दिन स्थानीयवासी र सरोकार भएका सबै पक्षको सहयोग महत्वपूर्ण हुने देखिएको छ ।

यो उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लण्डन, न्युयोर्क, टोकियोजस्ता विश्वाका २५० भन्दाबढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो ।

यसबीचमा फ्लाई दुबईले उडान तालिम सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ ।

वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ । पोखरा–दुबई उडानबाट पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधै पोखरा आउन सक्नेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.