प्रधानमन्त्री कार्की बिरुद नारा लगाउँदै गुरूङ समूह मध्यराति बालुवाटारमा
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन मन्त्री नियुक्त गर्नुभएपछि आफूहरुसंग सल्लाह नगरेको भन्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि बिरोध प्रदर्शन गरेको छ ।
सुदन गुरुङ नेतृत्वको हामी नेपाल समूहका युवाहरुको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाइएको थियो ।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्यको समेत उपस्थिति रहेको प्रदर्शनमा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागिएको थियो ।
प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट छ । सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका थिए ।
गुरूङले आक्रोशित मुद्रामा भने, “हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका छौं। त्यहीँबाट थुतेर निकाल्छौं . ओमप्रकाश अर्याल, लयर.. उनले आफै गृहमन्त्री बनाउँदा रहेछन्, भित्र बसेर !”




प्रतिक्रिया राख्नुहोस्