राजनीति

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घद्वारा शुक्रबार आयोजित कार्यक्रममा उहाँले दिगो कृषि अभ्यास नेपाली किसानका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै किसानले दैनिक जीवनमा भोगेका समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उत्पादनलाई अनुकूलन गर्नु र खेतीलाई बढी लाभदायक बनाउनु अहिले ठूलो चुनौती रहेको बताउँदै संयोजक दाहालले प्रविधिको माध्यमबाट किसानलाई दिगो, पर्यावरणमैत्री र लाभदायक खेती गर्न प्रेरित गर्न सकेमा कृषि औद्योगिकरणको विकास गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले आफू पनि किसान सङ्गठनमा काम गरेको स्मरण गर्दै कृषि क्षेत्रले ठूलो सङ्ख्यामा रोजगारीका अवसर सृजना गर्ने तथा कृषि उत्पादन वृद्धिले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि क्षेत्रमा गरिने खर्चले उत्पादन वृद्धि हुने र किसान वर्गको जीवन सुदृढ गर्ने बताउँदै त्यसले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वदेशी वस्तुलाई देशमा खपत गर्न सकेमा आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताउनुभयो ।

रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

महासङ्घका अध्यक्ष बलदेव चौधरीले निर्यातमूलक कृषि उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउन आग्रह गर्दै नेपाली हावापानीमा हुने उत्पादन गुणस्तरीय हुने गरेकाले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

उहाँले सरकारले सिँचाइ, रासायनिक मल, बीउबिजन, नवीनतम् प्रविधिमा सहुलियत उपलब्ध गराउन माग गर्नुभयो । सो अवसरमा उद्यमी भगवान कार्कीलगायत उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.