जन सरोकार

शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने (भिडियो)

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ ।

चितवनको भरतपुरमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश अर्यालले शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटमा स्मृति उद्यान निर्माण गर्ने विषयमा छलफल गरिनुका साथै त्यसका लागि सल्लाहकार समिति, निर्माण समिति र स्रोत व्यवस्थापन समिति बनाएर स्मृति उद्यान निर्माणको कार्य अघि बढाउने बताउनुभयो ।

सो अवसरमा बाढीपछि जिल्लामा भएको खोज, उद्धार तथा शव व्यवस्थापनका गतिविधिको समीक्षा गरिएको थियो । चितवनमा सञ्चालन गरिएको खोज, उद्धार तथा शव सङ्कलन र व्यवस्थापन कार्यमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई कदरपत्र समेत प्रदान गरिएको थियो ।

प्रजिअ अर्यालले भोटेकोशी बाढीपछि जिल्लामा हालसम्म ३६४ शव फेला परेको जानकारी दिनुभयो । तीमध्ये ३५१ शव जमिनमुनि व्यवस्थापन गरिएको जानकारी दिनुभयो । हालसम्म १२ शव आफन्तले बुझेर लगेका र एउटा शव अस्पतालमा रहेको उहाँले बताउनुभयो ।

बाढीमा परेर मरेका पशुको व्यवस्थापन भरतपुर महानगरपालिकाले गरेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । चितवनमा स्थायी ठेगाना भएका १५ जनाका परिवारजनले बाढीमा हराएका भन्दै नाम टिपाएको उहाँले बताउनुभयो ।

प्रजिअ अर्यालले भन्नुभयो, “पवित्रस्थल देवघाटमा हामीले शवको व्यवस्थापन गरेका छौँ । सो स्थानमा उद्यान बनाउँदा उनीहरुका आफन्तजन आएर मन बुझाउन, बहलाउन सकिन्छ भनेर उद्यान बनाउने योजना बनाएका हौँ ।”

यसबाट भावी पुस्तालाई इतिहास दर्शाउन महत्त्वपूर्ण टेवा पुग्ने र भविष्यमा आवश्यक पर्दा अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग गर्ने तथा न्याय खोज्ने प्रयोजनका लागिसमेत प्रमाणका रूपमा रहने भएकाले उद्यान बनाउने सोच आएको उहाँले बताउनुभयो ।

सो अवसरमा स्मृति उद्यानको डिजाइनसमेत प्रस्तुत गरिएको थियो । सघन सहरी विकास आयोजना चितवनका इञ्जिनियर दीपज्योति श्रेष्ठले स्मृति उद्यानको थ्रीडी डिजाइन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

भोटेकोशी घटना र चितवनमा गरिएको शव व्यवस्थापनका बारेमा नेपाली सेनाका तर्फबाट नयाँ सबुजदल गण भरतपुरका प्रमुख सेनानी सुदीप तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल र सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख धनबहादुर बानियाँले समीक्षा गर्नुभएको थियो ।

जिल्लाका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.