बिशेषराजनीति

इमानदार हातले मात्र संविधानलाई जीवन दिन सक्छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकार नेपालको संविधानको अक्षर र भावनाप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानले निर्दिष्ट गरेको मार्गमा अघि बढ्दै मुलुकमा सुशासन, विकास र समृद्धि कायम गर्ने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

उहाँले भन्नुभयो, “यस संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य, विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण हो ।

एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ ।”

प्रधानमन्त्री शाहले भन्नुभयो, “यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । विकासका लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरामा सरकार सचेत छ ।”

वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको उहाँको भनाइ थियो ।

“सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौ । सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सङ्घीय सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहले आफूहरु पुरानै बाटो मात्र नहिँड्ने उल्लेख गर्दै कृत्रिम बुद्धिमता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र नवउद्यमलाई अगाडि राखेर, ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने बताउनुभयो ।

डिजिटल सुशासन कार्ययोजनाअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले युवाले सडकमा मागेको सुशासन प्रविधिबाट पनि सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय भएको आजको यस विशेष घडीमा विपद् व्यवस्थापन एवं उद्धारमा सहयोग गरेका सबै मित्रराष्ट्र, अन्तरराष्ट्रिय समुदाय एवं संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आम नागरिक तथा देशवासीप्रति आभार प्रकट गर्नुभयो ।

“धन्यवाद मात्र पर्याप्त छैन । नेपाल विश्वका विपद् उच्च जोखिम भएका मुलुकहरूको सूचीमा छ । यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनुअघि नै सामना गर्छौँ। जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइनेछ । विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको मागगरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरू तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

साथै उहाँले भोटेकोशी बाढीमा जीवन गुमाएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक समूहले कवाज, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका थिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.