खेलविविध

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो : नेपाल १० स्वर्णसहित अग्रस्थानमा

पोखरामा जारी ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनशिप २०२२’ जी–२ र्याङ्किङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनशिप–२०२२’ मा नेपाल सर्वाधिक पदकसहित अग्रस्थानमा रहेको छ ।

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ६ देखि ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहल र ब्याडमिन्टन हलमा जारी प्रतियोगिताको शुक्रबार साँझसम्मको नतिजामा विभिन्न इभेन्टअन्तर्गत २१ वटा समूहको प्रतिस्पर्धामा नेपाल १० वटा स्वर्ण पदक हात पार्दै अग्रस्थानमा रहेको हो ।

यसै गरी छिमेकी मुलुकले भारत सात स्वर्ण पदकसहित नेपाललाई पछ्याइरहेको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिनुभयो । नेपालसहित विभिन्न १३ देश सहभागी भएको प्रतियोगितामा मलेसियाले दुई स्वर्ण जित्दा बङ्गलादेश र पाकिस्तानले एक÷एक स्वर्ण पदक जितेको आयोजकले जनाएको छ ।

नेपालका तर्फबाट स्वर्ण पदक जित्न सफल खेलाडीहरूमा १४ देखि १८ वर्ष उमेर समूहतर्फ आयुष गुरुङ, १८ देखि ३० वर्ष पुरुषतर्फको खेलमा जीत, प्रेम र अन्जनको समूहले स्वर्ण पदक हात पार्दा १४ देखि १८ वर्ष उमेर समूहमा अर्पणा चौधरीले स्वर्ण पदक दिलाउनुभयो ।

यसै गरी नौदेखि १२ वर्ष उमेर समूहमा प्रतीक्षा राना, १४ देखि १८ वर्ष टोली पुरुषतर्फको खेलमा ओम भण्डारी, उपासक घिमिरे र आयुष सुवाल, नौदेखि १२ वर्ष उमेर समूहमा महिलातर्फको खेलमा जेसिका लामा, रासिया श्रेष्ठ र कुसुम तामाङले स्वर्ण पदक हात पार्नुभयो ।

१२ देखि १४ वर्ष उमेर समूहमा ट्रिजन चौधरी र सोही इभेन्टको महिलातर्फको टिम इभेन्टमा अन्जिला मोक्तान, सयिना रिजाल र निकिता रावतले स्वर्ण पदक हात पार्न सफल हुनुभयो ।

व्यक्तिगत तथा टोलीमा विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, राखेप सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङ, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुलीलगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा जी–२ र्याङ्किङ तथा ब्याडमिन्टनको हलमा पुम्सेका खेलहरू भइरहेका छन् । प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, श्रीलङ्का, अमेरिका, बङ्गलादेशलगायतका १३ देशका एक हजार चार सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.