समाचार

डिएनए पहिचानमा चीनको साथ, नेपालका लागि प्रविधि सिक्ने अवसर

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा चिनियाँ ‘डिएनए’ तथा फरेन्सिक पहिचान विज्ञहरूले गरिरहेको कामको निरीक्षण गर्नुभएको छ ।

रसुवा बाढीमा परी मृत्यु भएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि नेपाली प्राविधिक टोलीसँग सहकार्य गरिरहेका चिनियाँ विशेषज्ञको कामको उहाँहरूले अवलोकन गर्नुभएको हो ।

ललितपुरको खुमलटारस्थित नास्टमा पुगेर मन्त्री पुन र राजदूत माओमिङले विपद्बाट प्रभावित परिवारलाई आफन्तको अवस्थाबारे जानकारी गराउन डिएनए परीक्षणको महत्वपूर्ण भूमिकामाथि जोड दिनुभयो । उहाँहरूले परीक्षणमा संलग्न चिनियाँ तथा नेपाली विशेषज्ञप्रति आभारसमेत व्यक्त गर्नुभयो ।

निरीक्षणका क्रममा मन्त्री पुनले विपद्बाट प्रभावित परिवारलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराउन डिएनए तथा फरेन्सिक परीक्षणलाई थप प्रभावकारी र तीव्र बनाउनुपर्ने बताउनुभयो ।

“आफ्ना आफन्त तथा प्रियजन गुमाएका परिवारलाई उनीहरूको अवस्थाबारे जानकारी गराउन डिएनए परीक्षण अत्यन्त महत्वपूर्ण माध्यम हो । परीक्षणमा संलग्न विशेषज्ञहरूको मेहनतप्रति धन्यवाद भन्न चाहन्छु,” उहाँले भन्नुभयो ।

बाढी तथा अन्य विपद्का कारण ज्यान गुमाएका र बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डिएनए परीक्षणलाई तीव्र बनाउन मन्त्री पुनले आग्रह गर्नुभयो । नमुना सङ्कलनदेखि प्रयोगशालासम्म सुरक्षित रूपमा पुर्‍याउने प्रक्रिया संवेदनशील भएकाले पर्याप्त नमुना प्राप्त हुन नसकेको उल्लेख गर्दै उहाँले सम्भव भएसम्म छिटो नमुना उपलब्ध गराउने प्रयास भइरहेको बताउनुभयो ।

मन्त्री पुनका अनुसार नेपाल प्रहरीको डिएनए परीक्षण प्रयोगशाला ठूलो क्षमताको भए पनि प्रहरीबाहेकका अन्य तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको क्षमता तुलनात्मक रूपमा सीमित छ ।

उहाँले बाढीमा आफन्त गुमाएका परिवारका लागि डिएनए परीक्षण झन् महत्वपूर्ण रहेको बताउँदै सबै शव पूर्ण रूपमा प्राप्त गर्न नसकिएको अवस्थामा सानो जैविक नमुनाबाट समेत व्यक्तिको पहिचान गर्न सकिने भएकाले यस प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको बताउनुभयो ।

चिनियाँ विज्ञताको उपयोग दीर्घकालीन बनाउनुपर्ने

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विपद्पछिको उद्धार, राहत तथा प्रभावित व्यक्तिको पहिचानका लागि नेपालमा खटिएका चिनियाँ विशेषज्ञको कामको प्रशंसा गर्नुभयो । उहाँले नेपाललाई समस्या समाधान गर्न चीनले आफ्नो तर्फबाट सहयोग जारी राख्ने बताउनुभयो ।

नेपालमा तीन साताभन्दा बढी समयदेखि निरन्तर काम गरिरहेका चिनियाँ विशेषज्ञलाई धन्यवाद दिँदै राजदूत माओमिङले उनीहरूको काममा सहयोग र सहजीकरण गरेकोमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, नास्ट तथा सम्बन्धित नेपाली निकायप्रति आभार व्यक्त गर्नुभयो ।

विपद्पछिको असर न्यूनीकरण तथा उद्धारमा सहयोग पुर्‍याउन चिनियाँ विशेषज्ञका लागि प्रयोगशाला स्थापना गर्न गरिएको सहयोगप्रति उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

“चिनियाँ विशेषज्ञको काममा नेपाली पक्षले गरेको सहयोग, सहकार्य तथा हेरचाह प्रशंसनीय छ । चिनियाँ विशेषज्ञ, उपकरण, कार्यविधि, प्राविधिक दक्षता र कामको गतिबाट प्रभाव देखिएको छ,” राजदूत माओमिङले भन्नुभयो ।

नेपाल र चीनको संयुक्त प्रयासबाट विपद् प्रभावित नागरिकलाई सहयोग गर्नुका साथै मृतक तथा बेपत्ता व्यक्तिको पहिचानमा थप प्रभावकारी काम गर्न सकिने उहाँले बताउनुभयो ।

चीनले विज्ञान, प्रविधि, अनुसन्धान, फरेन्सिक तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा हासिल गरेको प्राविधिक क्षमता नेपालका लागि उपयोगी हुन सक्छ । तत्कालीन विपद्को पहिचानमा भइरहेको सहकार्यलाई दीर्घकालीन ज्ञान, सीप, प्रविधि हस्तान्तरण र नेपाली जनशक्ति विकाससँग जोड्न सके नेपालले यसबाट अझ ठूलो लाभ लिन सक्छ ।

नेपालका लागि चुनौती विपद्का बेला बाह्य विशेषज्ञ बोलाएर समस्या समाधान गर्नु मात्र होइन, यस्ता सहकार्यबाट आफ्नै प्रयोगशाला, प्रविधि र दक्ष जनशक्ति बलियो बनाउनु पनि हो । त्यसैले चीनलगायत प्रविधिमा अगाडि रहेका मुलुकसँगको सहकार्यलाई परियोजनामुखीभन्दा ज्ञान तथा प्रविधि हस्तान्तरणमुखी बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

विज्ञान–प्रविधिमा सहकार्य विस्तारको प्रतिबद्धता

राजदूत माओमिङले आगामी दिनमा नेपाल–चीनबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा अझ फलदायी सहकार्यका लागि मन्त्रालय र नास्टसँग नजिकबाट काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“चीन सधैँ दृढताका साथ नेपालको पक्षमा उभिएको छ । नेपाललाई विभिन्न समस्याबाट पार पाउन सहयोग गर्न चीनले आफ्नो तर्फबाट निरन्तर प्रयास गर्नेछ,” उहाँले भन्नुभयो ।

चिनियाँ दूतावासका सहकर्मीसहित नेपालमा थप उपलब्धि हासिल गर्न सबै पक्षसँग पूर्ण रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नेपाल–चीन मित्रतालाई अझ सुदृढ बनाउने धारणा राख्नुभयो ।

चिनियाँ फरेन्सिक विज्ञहरूले नेपाली टोलीसँग सहकार्य गरी डिएनए परीक्षण तथा पीडितको पहिचानसम्बन्धी काम अघि बढाइरहेका छन् ।

यसअघि मन्त्री पुन र राजदूत माओमिङले चिनियाँ विज्ञ तथा नेपाली प्राविधिक टोलीसँग डिएनए तथा फरेन्सिक पहिचानसम्बन्धी कार्यको प्रगति, प्रयोग भइरहेका प्रविधि र सहकार्यका विषयमा जानकारी लिनुभएको थियो ।

रसुवा बाढीका पीडितको पहिचानका लागि सुरु भएको यो सहकार्यलाई नेपालले विज्ञान तथा प्रविधिको क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्ने अवसरका रूपमा लिन सके त्यसको लाभ तत्कालीन विपद् व्यवस्थापनभन्दा धेरै परसम्म पुग्न सक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.