राजनीति

पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छ : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा बुधबार यहाँ आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह २०८३’ लाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिता आफैँमा एउटा संस्था भएकाले यसको शाख, मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताउनुभयो ।

“पत्रकारिता भनेको आफैँमा एउटा संस्था हो । यो संस्थाको गरिमा हामी सबैले सामूहिकरूपमा जोगाउने र यसको स्तर उन्नति गर्ने हो । हाम्रो पत्रकारिताको शाख के कुराले कमजोर बनाइरहेको छ भन्ने कुरा सोच्ने जिम्मेवारी हरेक पत्रकारको हो”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिताको मूल मर्म र व्यावसायिक मूल्यलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै कस्तो पत्रकारिता र कस्ता सञ्चार संस्था निर्माण गर्ने भन्ने मूल प्रश्नको जवाफ खोज्नुपर्ने बताउनुभयो ।

“हामीले कस्तो पत्रकारिता बनाउन खोजेका हौँ, कस्ता संस्था निर्माण गर्न खोजेका हौँ र कस्तो पत्रकारिता क्षेत्र निर्माण गर्न चाहन्छौँ भन्ने मूल प्रश्नको जवाफ दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेको उल्लेख गर्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेयता यी विषयको समाधानका लागि आवश्यक काम अघि बढाइरहेको बताउनुभयो ।

उहाँले स–साना समस्यालाई लिएर एकअर्कामाथि आरोप लगाउँदै सडकमा जाने प्रवृत्तिले संस्थागत समस्या समाधान नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले विधि, विधान र संस्थागत प्रणालीलाई बलियो बनाएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण संस्थालगायत सार्वजनिक सञ्चार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो ।

उहाँले ती संस्थाको लामो इतिहास र नेपाली संगीत, सञ्चार तथा पत्रकारिताको विकासमा रहेको योगदानको स्मरण गर्नुहुँदै पछिल्लो समय ती संस्थाहरू कमजोर अवस्थामा पुग्नुको कारण खोजिनुपर्ने बताउनुभयो ।

“अर्बौंको सम्पत्ति भएको एउटा सञ्चार संस्थाले आफ्ना कर्मचारीको पेन्सन र सुविधाका लागि सरकारको अनुहारमा टुलुटुलु हेर्नुपर्ने अवस्था किन आयो ? वर्षौंदेखि लेखापरीक्षण हुन नसक्नुको कारण के हो ? यी प्रश्नको जवाफ खोज्नुपर्छ”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो ।

रेडियो नेपाल र नेपाल टेलिभिजनका भौतिक पूर्वाधार निजी संस्थाभन्दा कमजोर नरहेको उल्लेख गर्दै उहाँले उपलब्ध पूर्वाधार र स्रोत हुँदाहुँदै पनि संस्था बलियो हुन नसक्नुका कारण संस्थाभित्रै खोजिनुपर्ने बताउनुभयो ।

“यी संस्थालाई बलियो हुनबाट रोक्ने के शक्ति थियो ? त्यो प्रश्नको जवाफ हामीले भित्रैदेखि खोजेनौँ भने कुनै पनि समस्याको समाधान हुँदैन”, उहाँले भन्नुभयो ।

संस्थागत सुधारबिना सार्वजनिक सञ्चार संस्था र समग्र पत्रकारिता क्षेत्रलाई बलियो बनाउन नसकिने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । उहाँले विगतमा भएका गलत अभ्यास सच्याउन सबै पक्ष तयार हुनुपर्नेमा जोड दिनुभयो ।

“हामीले हिजो गरेका गलत कुरालाई सुधार गर्न निर्मम भएर तयार हुनुपर्छ । सबै पक्ष एकै ठाउँमा आएर संस्थालाई बलियो बनाउने सङ्कल्प गर्ने हो भने सुधार गर्न सकिन्छ । सुधार गर्नैपर्छ”, उहाँले भन्नुभयो ।

पत्रकारको सुरक्षा पहिलो प्राथमिकता

सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिता जोखिम मोल्नुपर्ने पेशा भएपनि पत्रकारले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । जोखिम मोलेर रिपोर्टिङ गर्ने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उहाँले पत्रकारिता जनतालाई सुसूचित गर्ने महत्वपूर्ण जिम्मेवारी भए पनि जोखिम लिनु र अनावश्यक रूपमा जीवन जोखिममा पार्नु फरक विषय भएको बताउनुभयो ।

“प्रेस पास भयो भन्दैमा जोखिमबाट नडराउने वा पत्रकार भइसकेपछि आफ्नो जीवनलाई जोखिममा राखेर रिपोर्टिङ गर्नुपर्छ भन्ने सोच राख्नु हुँदैन । सुरक्षा पहिलो कुरा हो”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो ।

सुरक्षा सुनिश्चित गर्ने प्रयास हुँदाहुँदै पनि कतिपय अवस्थामा पत्रकारले जोखिमपूर्ण घटनाको रिपोर्टिङ गर्नुपर्ने अवस्था आउने र त्यसक्रममा अप्रिय घटना हुने गरेको उल्लेख गर्दै उहाँले सम्भव भएसम्म आफ्नो सुरक्षाको ख्याल गर्दै व्यावसायिक जिम्मेवारी निर्वाह गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

पाँच पत्रकार पुरस्कृत

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट यसवर्ष पाँच पत्रकार पुस्कृत हुनुभएको छ । विसं २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा जोखिमपूर्ण रिपोर्टिङ गरेका हिमालय टेलिभिजनका संवाददाता रामचन्द्र अर्याल, क्यामेरा पर्सन दिवाकर पोखरेल तथा कान्तिपुर टेलिभिजनका क्यामेरापर्सन श्याम श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।

त्यस्तै, जलवायु परिवर्तन तथा वातावरणीय जोखिमसम्बन्धी समाचार सामग्रीका लागि नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवाल र भक्तपुर संवाददाता अञ्जिर सिंह विकलाई पनि सम्मान गरिएको छ ।

हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले २०६४ सालदेखि हरेक वर्ष असोज ७ गते हेम–सुनिल साहसिक टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

भौतिक तथा अन्य जोखिम मोलेर साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई यो पुरस्कार प्रदान गरिन्छ । विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा पत्रकार हेम भण्डारी र सुनिल सिंहको निधन भएको थियो । उहाँहरू वातावरणविद् तथा अन्य विशिष्ट व्यक्तित्वसँगै समाचार सङ्कलनका लागि त्यस क्षेत्रमा पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.