जन सरोकार

विपद्जन्य जोखिममा सतर्क रहन महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले यही असोज ९ देखि ११ गतेसम्म भारी तथा अतिभारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार ती दिन अत्यधिक वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र सडकमा जलमग्न हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको हो ।

महानगरपालिकाको शिक्षा विभागकी महाशाखा प्रमुख सरस्वती पोखरेलले विद्यालय आउँदा–जाँदा बालबालिकालाई जोखिम हुनसक्ने भएकाले थप सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले विद्यार्थीलाई नदी, खोला, खुला ढल तथा डुबान भएका सडकबाट टाढा रहन, विद्यालय आउँदा सुरक्षित बाटो प्रयोग गर्न र कक्षाकोठामा आवश्यक सावधानीबारे जानकारी गराउन आग्रह गर्नुभएको छ ।

विद्यालय परिसरमा पानी जम्ने, पर्खाल भत्किने वा पहिरो जानेजस्ता जोखिम भए नभएको यकिन गरी तत्काल आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

आपत्कालीन अवस्था आएमा स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन समितिसँग समन्वय गर्न पनि महानगरले आग्रह गरेको छ । मौसमको अवस्था अत्यन्तै प्रतिकूल भएमा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भएकाले महानगरपालिकाको शिक्षा विभागसँग समन्वय गरी पठनपाठन बन्द गर्ने वा वैकल्पिक व्यवस्था गर्ने निर्णय लिन सकिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.