अमेरिकामा ‘बर्थ टुरिजम’माथि नयाँ भिसा प्रतिबन्ध
वासिङ्टन । अमेरिकी सरकारले बच्चा जन्माएर अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गरिने ‘बर्थ टुरिजम’मा संलग्न हुने वा त्यस्तो यात्रा सहजीकरण गर्ने विदेशी नागरिकमाथि नयाँ भिसा प्रतिबन्ध लगाउने नीति घोषणा गरेको छ ।
ट्रम्प प्रशासनको यो नीतिले बर्थ टुरिजमका व्यावसायिक सञ्जाल सञ्चालन गर्ने व्यक्ति, भिसा आवेदनमा गलत विवरण दिन सहयोग गर्ने ‘फिक्सर’ तथा यस्तो यात्रा जानाजानी सहजीकरण गर्ने विदेशी स्वास्थ्य सेवा प्रदायकलगायतलाई लक्षित गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार प्रतिबन्ध ‘बर्थ टुरिजम’ सञ्जालका मालिक, सञ्चालक तथा व्यवस्थापक, भिसा आवेदनमा झुटो विवरण दिन आवेदकलाई सिकाउने वा सहयोग गर्ने व्यक्ति तथा अमेरिकी भूमिमा जन्मिएका बालबालिकालाई नागरिकता दिलाउने उद्देश्यले गरिने व्यावसायिक व्यवस्थामा संलग्न व्यक्तिमाथि लागू हुनेछ ।
अमेरिकी सरकारले बर्थ टुरिजम सञ्जालले ग्राहकबाट दशौँ हजार डलरसम्म शुल्क लिने र भिसा आवेदनमा यात्राको वास्तविक उद्देश्य लुकाउन सहयोग गर्ने गरेको आरोप लगाएको छ । रुबियोले यस्तो गतिविधिले अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग गरेको बताउनुभएको छ ।
विश्वभरबाट अमेरिका जाने प्रवृत्ति
अमेरिकामा बच्चा जन्माएर नवजातलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गर्भवती विदेशी महिला अमेरिका जाने प्रवृत्ति लामो समयदेखि रहँदै आएको छ । विश्वका विभिन्न मुलुकबाट हुने यस्तो यात्रामा नेपाल पनि जोडिने गरेको छ ।
नेपालमा समेत आर्थिक रूपमा सम्पन्न परिवार तथा सार्वजनिक जीवनमा रहेका केही सेलिब्रेटी अमेरिका पुगेर सन्तान जन्माउने र जन्मकै आधारमा बच्चाको अमेरिकी नागरिकता सुनिश्चित गर्ने गरेको विषय सार्वजनिक चर्चामा आउने गरेको छ । यद्यपि, नेपालबाट बर्थ टुरिजमका लागि अमेरिका जानेको आधिकारिक संख्या वा व्यक्तिविशेषको समग्र तथ्यांक उपलब्ध छैन ।
चीन, नाइजेरिया, ब्राजिल, दक्षिण कोरिया, ताइवान, मेक्सिको, टर्की लगायत विभिन्न देशबाट समेत बच्चा जन्माउन अमेरिका जाने गरेको विभिन्न अध्ययन तथा रिपोर्टमा उल्लेख छ । अमेरिकी सरकारले भने बर्थ टुरिजममा संलग्न विदेशीको छुट्टै आधिकारिक तथ्यांक सार्वजनिक गर्दैन ।
जन्मसिद्ध नागरिकताको व्यवस्था
अमेरिकी संविधानको १४औँ संशोधनको लामो समयदेखिको व्याख्याअनुसार अमेरिकाको भूमिमा जन्मिएका अधिकांश बालबालिकाले जन्मकै आधारमा अमेरिकी नागरिकता प्राप्त गर्दै आएका छन् । यही व्यवस्थाका कारण सन्तानलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले विदेशी नागरिक अमेरिका आउने प्रवृत्ति विकसित भएको हो ।
तर अमेरिकी सरकारले बच्चा जन्माउने उद्देश्यलाई नै पर्यटक भिसाको मुख्य प्रयोजन बनाएर अमेरिका प्रवेश गर्न खोज्ने अवस्थालाई वैध भ्रमणको उद्देश्य नमान्ने नीति यसअघि नै अपनाउँदै आएको छ ।
कसलाई लक्षित छ नयाँ प्रतिबन्ध ?
नयाँ नीति अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २१२(ए)(३)(सी) अन्तर्गत लागू गरिनेछ । यसअन्तर्गत अमेरिकाको विदेश नीतिमा गम्भीर प्रतिकूल प्रभाव पार्न सक्ने ठहर गरिएका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन सकिने व्यवस्था छ ।
नयाँ नीतिले बर्थ टुरिजम सञ्जालका सञ्चालक तथा व्यवस्थापक, भिसा आवेदनमा गलत विवरण दिन सहयोग गर्ने व्यक्ति, यस्तो यात्रालाई जानाजानी सहजीकरण गर्ने विदेशी स्वास्थ्य सेवा प्रदायक तथा व्यावसायिक रूपमा यस्तो व्यवस्था मिलाउने अन्य व्यक्तिलाई लक्षित गर्ने विदेश मन्त्रालयले जनाएको छ ।
नयाँ प्रतिबन्ध कहिलेदेखि पूर्ण रूपमा लागू हुनेछ, कति व्यक्ति प्रभावित हुनेछन् र प्रतिबन्ध लगाउने निर्णयका लागि कस्ता प्रमाण आवश्यक पर्नेछन् भन्नेबारे भने विदेश मन्त्रालयले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
रुबियोका अनुसार नयाँ नीतिको उद्देश्य अमेरिकी नागरिकताको मर्यादा कायम राख्नु, अध्यागमन प्रणालीको दुरुपयोग रोक्नु तथा बर्थ टुरिजमबाट हुने व्यावसायिक गतिविधिमाथि नियन्त्रण गर्नु हो ।




प्रतिक्रिया राख्नुहोस्