एसियाली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य पदक प्राप्त गरेको नेपालले १९औँ एसियाली खेलकुदमा खराब सुरुवात गरेको छ ।
सोमबारसम्म ११ तेक्वान्दो खेलाडीमध्ये चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । आज सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अन्जली तामाङ पराजित भएका छन् ।
पुरुष ५८ किलोमुनिको तौल समूहमा कुमाल साउदी अरेबियाका खेलाडीसित पराजित भएका हुन् । उनी ४–१२ र २–० अंकले पराजित भए ।
यसैगरी महिला ४९ किलोमुनिको तौल समूहमा तामाङ प्रिक्वाटर फाइनलमा पराजित भइन् । उनी थाइल्याण्डकी खेलाडीसित १२–० तथा १०–० अंकले पराजित भइन् । तामाङले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई पराजित गर्दै प्रिक्वाटर फाइनल प्रवेश गरेकी थिइन् ।
यसअघि तेक्वान्दोको एकल पुम्सेको पुरुषतर्फ प्रेमबहादुर लिम्बू र महिलातर्फ स्वस्तिका तामाङ पराजित भइसकेका छन् । एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा अब पुरुषतर्फ गोविन्दबहादुर आले, वीरबहादुर महरा, अभिषेक बराल र ज्याकी यादव तथा महिलातर्फ आयशा लामा, सन्ध्याकुमारी सिंह र इन्दिरा बस्नेतले खेल्न बाँकी छ ।
रग्बीमा पनि नेपाल बाहिरियो
यसैबीच एसियाली खेलकुद अन्तर्गत रग्बी सेभेन्समा नेपालको चुनौती समाप्त भएको छ । समूह ‘डि’ मा नेपालसहित युएइ, चीन र अफ्गानिस्तान रहेका थिए । नेपालले समूह चरणको तीनै खेलमा हार बेहोरेको छ ।




प्रतिक्रिया राख्नुहोस्